images
images

आयात–निर्यात दुवै घट्यो, बढ्यो राजस्व संकलन

आयात–निर्यात दुवै घट्यो, बढ्यो राजस्व संकलन

साउनमा आयात, निर्यात घटेपनि भन्सार बिन्दुबाट सरकारले उठाउने राजस्व भने गत वर्ष सोही अवधिको दाँजोमा बढेको छ ।

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • आयात–निर्यात दुवै घट्यो, बढ्यो राजस्व संकलन

    काठमाडौँ / चालु आर्थिक बर्ष (आव) २०८१/८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक व्यापार घट्दा भन्सार बिन्दुबाट हुने राजस्व संकलन भने बढेको छ ।

    images
    images

    भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा आयात निर्यात दुवै घटेको छ । यसले व्यापार घाटासमेत कम भएको छ । तर, राजस्व संकलन भने गत वर्ष सोही अवधिको दाँजोमा बढेको छ ।

    विभागको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।  यो गत आव सोही अवधिको तुलनामा ०.६७ प्रतिशत कम हो ।

    गत बर्ष साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाखको वस्तु आयात भएको थियो ।  आयात ८६ करोड १८ लाख रुपैयाँले घटेको हो । 

    यता, पहिलो एक महिनामा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ९.६३ प्रतिशतले कम हो । गत आवमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात भएको वस्तु निर्यात भएको थियो । 

    आयात र निर्यात दुवै घट्दा व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपेयाँमा झरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४४ करोड ६ लाख रुपैयाँ  अर्थात ०.३८ प्रतिशतले कम हो । आव ०८०/८१ को साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । 

    आयात र निर्यातसँगै कुल वैदेशिक व्यापार पनि १.५२ प्रतिशतले घटेको छ । ०८० साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको वैदेशिक व्यापार गत साउनमा १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

    बढ्यो राजस्व संकलन

    वैदेशिक व्यापार घटेपनि भन्सार बिन्दुबाट सरकारले उठाउने राजस्व भने बढेको छ । यो वर्षको पहिलो महिनामा भन्सार राजस्वबाट ३४ अर्ब ६९ करोड ७९ लाख ४८ हजार रुपैयाँ उठेको छ ।

    यो गत आवको यसै अवधिको तुलनामा ६.८० प्रतिशत धेरै हो । गत आवमा सरकारले ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ बराबर राजस्व उठाएको थियो ।

    सरकारले आयातित वस्तुमा १० प्रतिशत अग्रिम करको व्यवस्था भएका कारण आयात घटे पनि राजस्व सङ्कलन भने केही मात्रामा बढेको देखिन्छ ।

    सरकारले आयातित खाद्य उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन तथा अन्य भन्सार महसुल लगाउन समस्या भएपछि सरकारले अग्रिम कर बढाउने नीति अवलम्बन गरेको थियो । 

    चालु वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत विभिन्न वस्तुहरूमा अग्रिम कर २.५ प्रतिशत र १० प्रतिशत गरी २ किसिमका अग्रिम आयकर लगाउने घोषणा गरेको थियो । 

    आर्थिक विधेयक २०८१ मार्फत् भन्सार दरबन्दी भाग १, २, ३, ६, ७ र ८ अन्तर्गतका विभिन्न वस्तु तथा उत्पादनमा १० प्रतिशत अग्रिम आयकरको व्यवस्था गरिएको हो । आयातित मूल्यको आधारमा यी वस्तुमा थप १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको हो । 

    जसअनुसार जीवित जन्तु तथा मासु, जीवित, ताजा तथा सबै प्रकारका माछा, फलफूल तथा फलफूल केन्द्रित अन्य उत्पादन, वनस्पतिका जरा तथा गानाहरू र काष्ठफलमा आयत मूल्यको आधारमा भन्सार विन्दुमा १० प्रतिशत अग्रिम आयकर लगाउन थालिएको हो । 

    त्यस्तै दुग्धजन्य पदार्थ, अण्डा, मह, बिउ बाहेकका सबै प्रकारका खाद्यान्न, मैदा र आटा तथा पीठोका उत्पादन, जडीबुटी तथा उखु र वनस्पतिका उत्पादनमा २.५ प्रतिशत अग्रिम आयकरको व्यवस्था गरिएको छ । 

    पेट्रोलको आयात बढ्यो, डिजेलको घटयो

    साउनमा २१ अर्ब ६६ करोड ९० पेट्रोलियम पदार्थ (इन्धन) आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनमा २१ अर्ब ९८ करोड ४५ लाखको आयात भएको पेट्रोलियम पदार्थको आयात चालु आवमा घटेको छ ।

    साउनमा ६ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको डिजेल ५ अर्ब ६९ करोड ३५ लाखको पेट्रोल र ४ अर्ब ८२ करोड ६७ लाखको खाना पकाउने एलपी ग्याँस आयात भएको हो । चालु आवमा पेट्रोलको आयात बढे पनि डिजेलको आयात भने घटेको छ ।

    पेट्रोलियम पदार्थपछि मेसिनरी र त्यसका पार्टपुर्जा १० अर्बको आयात भएको छ । त्यस्तै विद्युतीय उपकरण र तयसको पार्टपुर्जा ९ अर्ब ६४ करोडको आयात भएको हो । फलाम र त्यसबाट बनेका र स्टिलको आयात ९ अर्ब ६३ करोड, गाडीको आयात ६ अर्ब ४९ करोड र कृषिका लागि मलखादको आयात ६ अर्ब १८ करोडको भएका भन्सार विभागले जनाएको छ ।

    त्यस्तै, एक अर्ब २५ करोडको तोरीको दाना, एक अर्ब २० करोडको हवाई इन्धन, एक अर्ब १८ करोडको भटमासको पिना, एक अर्ब ११ करोडको कोइला, एक अर्ब चार करोडको सुन र एक अर्ब तीन करोडको धान आयात भएको विभागले जनाएको छ । 

    विश्व बजारमा गलैँचाको माग बढ्दै

    निर्याततर्फ भने गलैँचाले अग्रस्थान ओगटेको छ । कुल १२ अर्ब २२ करोडको वस्तु निर्यात हुँदा एक अर्ब ११ करोड रुपैयाँको गलैँचा मात्रै निर्यात भएको छ । 

    सबैभन्दा बढी अमेरिकामा गलैँचा निर्यात भएको तथ्याङ्क छ । विभागको अनुसार ऊनी र जनावरको रौँबाट निर्मित गलैँचाको माग बढ्दै गएको छ । नेपाली गलैँचा अमेरिकामा ७८ करोड ८४ लाख रुपैयाँको निर्यात भएको छ । अमेरिकामा ६७.४९ प्रतिशत गलैँचा निर्यात भएको छ ।  

    यता, ५८ करोड २० लाखको फेल्ट निर्यात भएको छ । ५१ करोड ३२ लाखको चिया, ४७ करोड ९७ लाखको फलाम तथा स्टिल रोल, ४३ करेड ३१ लाखको तोरीको पिना, ४२ करोड ३३ लाखको काठको प्लाई, ३५ करोड २६ लाखको (८५ प्रतिशतसम्म पोलिस्टर भएको) धागो, ३५ करोड २६ लाखको जुस, ३४ करोड १७ लाखको (८५ प्रतिशतभन्दा बढी पोलिस्टर भएको) धागो निर्यात भएको छ । त्यस्तै, ३१ करोड ६४ लाखको जुटको बोरा निर्यात भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार