काठमाडौँ / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार्न भन्दै ‘प्राथमिकता तथा कार्ययोजना’ सार्वजनिक गरेका छन् ।
आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पौडेलले नयाँ कार्ययोजना घोषणा गरेका हुन् ।
मन्त्री पौडेलले ल्याएका कार्ययोजनामा अधिकांश पुरानै अधुरा योजना, कार्यक्रम र घोषणा समेटिएका छन् । स्नायु रोग उपचार केन्द्र स्थापनाजस्ता केही योजना र स्वास्थ्य बीमा कार्यक्रममा रकम दायरा एक लाखबाट पाँच लाख रुपैयाँ पुर्याउने सुविधा विस्तारका कार्यक्रम उनले कार्ययोजनामा लेखेका छन् ।
यस्तै, सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना, औषधीको मूल्य समायोजन र औषधि व्यवस्था विभागमा क्षमता सुदृढीकरण, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क व्यवस्था, वर्षको एकपटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना पौडेलले सार्वजनिक गरेको कार्ययोजनामा समेटिएको जनाएका छन् ।
कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए। उनले पूर्वस्वास्थ्यमन्त्रीहरू, पूर्वस्वास्थ्य सचिव, पूर्वमहानिर्देशकहरू, महाशाखाका पूर्वप्रमुखहरू, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र निकायहरूका प्रतिनिधिहरू, बहालवाला कर्मचारीहरू, अस्पताल निर्देशकहरू, निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानदाताहरू तथा सञ्चारकर्मीहरूसँग छलफल गर्दै सुझाव लिएका थिए।
यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलित सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरू तथा कार्ययोजना तयार पारेका हुन्।
कार्ययोजनामा स्वास्थ्य बिमा कार्यक्रममा रकमको दायरा बढाउने, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बिमामा जोड्ने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण, औषधिको मूल्य समायोजन गरिने लगायत उल्लेख छन्।
प्राथमिकता तथा कार्ययोजनाको पूर्णपाठः