images
images

कोरोनाले सहरबाट लखेट्यो, अहिले गाउँमै मौरी पालेर कमाउछन् ५० हजार नाफा

कोरोनाले सहरबाट लखेट्यो, अहिले गाउँमै मौरी पालेर कमाउछन् ५० हजार नाफा

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • कोरोनाले सहरबाट लखेट्यो, अहिले गाउँमै मौरी पालेर कमाउछन् ५० हजार नाफा
    images
    images

    रामेछापको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।

    सानै उमेरमा सहर पसेका मगर कोरोना महामारीका कारण गाउँ फर्किएका थिए । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे । कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए र मौरीपालन सुरु गरेका हुन् ।

    सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गरेका थिए। उनले भने, 'त्यसपछि मैले ६ घार सेरेना जातको मौरी थपेँ ।अहिले यो व्यवसाय गरेको ३ वर्ष भयो आम्दानी राम्रै छ ।'

    उनले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी पनि बेच्छन् । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ । मह र घार बिक्रीबाट उनले वार्षिर्क खर्च कटाएर ६ लाख कमाइ गर्ने गरेको बताए ।

    आर्थिक वर्ष २०८०\८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उनले रामेछाप नगरपालिकाबाट ३ लाख रुपैयाँ अनुदान प्राप्त गरे । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उनी खुसी छन् । उनले १ लाख १५ हजार रुपैयाँ लगानी गरी मौरीपालन सुरु गरेका थिए ।

    सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उनको भनाइ छ । पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उनको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् । मेलिफेरा जातका मौरीले वर्षमा ४र५ पटक मह उत्पादन गर्छ । यसले १ पटक मह काढ्दा १ घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना ९लोकल० जातको माहुरीको घारबाट भने वर्षमा २ पटक मात्र मह निकाल्न मिल्ने उनले बताए ।

    अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकाले उनले माउ उत्पादनमा जोड दिएका छन् । उनले उत्पादन र निर्माण गरेको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन् । सेरेना जातको माहुरीको मह प्रतिकेजी १ हजारदेखि १२ सयसम्म बिक्री गर्छन् ।

    १८ वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसकेका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । उनी भन्छन्,'देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाउँजाउँ लागेको थियो, तर विदेश गएर फर्केका साथीहरूको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमैे काम गर्न थालेका हुँ ।'

    मौरीपालन सुरु गरेको २ वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्तो समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनको अनुभव छ । कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । सोही अनुसार सुनापति गाउँपालिकाले उनीसँग सय वटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उनी बताउँछन् ।अर्को वर्षसम्ममा ३०० घार मौरी पाल्ने योजना उनको छ । प्रायः मौरीपालक किसानले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरे पनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको भनाइ छ ।

    मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनी बताउँछन् । उनले भने, 'घार फुटाएपछि मौरीहरुले आपतकालीन रानी तयार पार्छन् । रानी हराएको अवस्थामा माहुरीहरूले ३\४ दिनको लार्भा अन्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन ।'

    रानी हराएको अवस्थामा २र३ दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिनदेखि ३\४ दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताए । उनले उत्पादन गरेको मह सदरमुकाम मन्थलीसहित छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारमा बिक्री हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार