काठमाडौँ / आर्थिक बर्ष २०७९/८० को तुलनामा आर्थिक बर्ष २०८०/८१ मा विद्युतीय (इभि) गाडि (कार, जिप र भ्यान)को आयात करिब तीन गुणाले बढेको छ । आव ०७९/८० (साउनदेखि असार मसान्तसम्म) मा ४ हजार ४६ वटा इभि आयात भएका थिए । यस आवको एक बर्षको अवधिमा यो सङ्ख्या ११ हजार ६७३ भएको छ ।
अघिल्लो आवभरी भित्रिएका इभिको तुलनामा यस आवमा इभिको आयात २.८८ गुणाले बढेको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कले देखाएको हो ।
एक वर्षमा २९ अर्ब २७ करोड रुपैयाँँको इभि गाडि आयात हुँदा राज्यले १२ अर्ब ९९ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
जुन राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ९ अर्ब ७१ करोड ९८ लाख ६४ हजार रुपैयाँँले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा इभि गाडि आयात गरी राज्यले ३ अर्ब २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
इभि गाडिको तुलनामा इन्जिन गाडिको निर्यात खस्किनुमा अटोलोनमा ५० प्रतिशत अनिवार्य डाउनपेमेन्ट हुनुपर्ने, जोखिम बहनलाई उच्च प्राथमिकतामा राख्नु प्रमुख कारण रहेको नाडा अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष करण चौधरीले बताए । यता, इभि गाडिमा भने करमा सहुलियन अटो लोन सहज हुनुले आकर्षण बढेको उनको भनाई छ ।
गत आवमा समग्र अटो बजारको नै मन्दी आएको अध्यक्ष चौधरीले बताए । उनले भने, “गाडिको मूल्यको आधारमा मात्रै नभई समग्र अटो बजारमा बिक्री घटेको छ । देशको कमजोर आर्थिक स्थितिको कारण सबै सेक्टरमा समस्या देखिएको हो । मानिसहरूको खरिद गर्ने क्षमतामा कमि आएको छ ।”
आर्थिक मन्दीको समयमा अटो बजार यो स्थितिमा कमजोर हुनु स्वभाविक भएको उनले बताए । “'high value high Engagement' हुने भएकोले, अधिकांश सम्भावित ग्राहकहरूले गाडी खरिद स्थगित गरेको पनि देखिन्छ,” उनले भने ।
महँगा गाडि मात्रै होइन मध्यम वर्गलाई उपयुक्त सवारीको बिक्री पनि घटेको उनले जानकारी दिए । सहुलियतका कारण इभि गाडिको बिक्री सकारात्मक भएको पनि समग्र अटो सेक्टर समस्याग्रस्त स्थितिमा रहेको उनी बताउँछन् ।
कुन महिनामा कतिको आयात ?
एकै आवको जेठ महिनाको तुलनामा असारमा इभिको आयात घटेको छ । सरकारले चालु आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत इभिमा लगाएको कर बढ्ने सङ्केतपछि जेठमा इभिको आयात ह्वात्तै बढेको थियो ।
जेठमा मात्रै ७ अर्ब ८८ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको २ हजार ९६५ वटा इभि गाडि नेपाल आएका थिए । तर, असार महिनामा भने ४८ करोड २३ लाख ३६ हजार रुपैयाँको २३५ वटा इभि गाडि आयात भएको विभागको तथ्याङ्क छ ।
यस्तै, आव ०८०/८१ को साउनमा १ सय १० वटा, भदौमा ७ सय ८८ वटा, असोजमा १ हजार २ सय ३७ वटा, कात्तिकमा ६ सय ५२ वटा, मङ्सिरमा ८ सय ९९ वटा, पुसमा १ हजार ४ सय २१ वटा, माघमा १ हजार ५२ वटा, फागुनमा २ सय ७६, चैतमा ६ सय ५८ र बैशाखमा १ हजार ४ सय ४ वटा इभि गाडि भित्रिएका थिए ।
कस्ता गाडि रूचाउँछन् नेपाली ?
नेपाली अटो बजारमा ग्राहकहरूले ५१ किलोवाटदेखि १०० किलोवाटका गाडि सबैभन्दा बढी रूचाइएको पाइएको छ । एक बर्षको अवधिमा सो किलोवाटका ६ हजार ८ सय ८५ इभि गाडि नेपाल भित्रिएका छन् ।
उक्त किलोवाटसम्मको गाडि आयातमा नेपालबाट १९ अर्ब ६७ करोड २ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ भने ९ अर्ब ६५ करोड ४० लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कुन क्षमताको गाडि कति आयात भयो ?
विभागको तथ्याङ्क अनुसार एक बर्षमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मको गाडि आयात भएको छ । यो क्षमताको गाडि एक बर्षमा ६ हजार ८८५ ओटा भित्रिदा १९ अर्ब ६७ करोडबढी रकम बाहिरिएको छ भने ९ अर्ब ६५ करोड ४० लाख रुपैयाँबढी राजस्व सङ्कलन भएको छ । यस अवधिमा ४ हजार ५७१ ओटा ५० किलोवाटसम्मको गाडि आयात हुँदा ८ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको छ । यस क्षमताको गाडि आयातबाट विभागले २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सबैभन्दा कम ३०० किलोवाटभन्दा माथिको गाडि आयात हुने गरेको विभागको तथ्याङ्क छ । एक बर्षमा एउटा मात्रै यस्तो गाडि आयात भएको हो । ३०० किलोवाटको एउटा आयात गाडि आयात गर्दा १ करोड २७ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने सरकारले २५ लाख ९८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
अधिकांश गाडि चीनबाट आयात
नेपाल भित्रिएका गाडिमध्ये अधिकांश गाडिहरू चीनबाट आयात भएको छ । चीनबाट नेपाल आयात हुने इभि गाडिको हिस्सा करिब ७२ प्रतिशत रहेका छन् । गत आवमा चीनबाट मात्रै २६ अर्ब ३४ करोड बराबरका ९ हजार ५ सय ११ युनिट इभि आयात गरिएको छ ।
अघिल्ला आवमा चीनबाट आयात हुने इभिको हिस्सा ४०.५१ प्रतिशत थियो । नेपालमा बिक्री हुने गाडिमध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् । त्यस्तै, टाटा, हुन्डाइ, महिन्द्रा, किया लगायतका ब्रान्ड भारतबाट आउने गरेका छन् । नेपालमा भारतीय इभिको हिस्सा २६ प्रतिशत रहेको छ ।
गत आवमा भारतबाट ६ अर्ब ४१ करोड रुपैयाँबराबरको ३ हजार ४३६ युनिट आयात गरिएको छ । नेपालमा छिमेकी मुलुक चीन, भारत लगायत कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडि आयात हुने गरेको छ ।
करोड माथिका कारमा किन छैन उपभोक्ताको रुचि ?
इभिको आयातमा उल्लेख्य वृद्धि भएपनि करोड रुपैयाँमाथिको कारमा भने उपभोक्ताको रुची कम रहेको पाइएको छ । हाल बजारमा १७ लाखदेखि ५ करोड रुपैयाँसम्मको इभि किन्न पाइन्छ । तर, पनि उपभोक्तको रोजाई भने करोड माथिका कारमा छैन् । एक बर्षको अवधिमा करोड रुपैयाँभन्दा धेरै मूल्यको केबल १८८ युनिट इभि आयात भएको छ ।
कुन ब्राण्डको कति ?
भन्सार विभागका अनुसार करोडमाथिका गाडिहरूमध्ये एक बर्षको अवधिमा सबैभन्दा बढी किया मोटर्स नेपाल भित्रिएको छ । इभि६ मोडलको यो गाडि एक बर्षमा ४० युनिट नेपाल भित्रिएको हो । त्यस्तै, स्काइवेल कम्पनीको इटि५ ३२ युनिट र बिएमडब्ल्यूको आइएक्स३ र हुन्डाई आयोनिक–५ ३० युनिट भित्रिएको विभागले जनाएको छ ।
त्यस्तै, सबैभन्दा कम आयात हुने गाडिमा टाइकन रहेको छ । यो मोडलको गाडि बिक्री गर्ने पोर्से कम्पनीले एक बर्षमा एउटा मात्रै गाडि भित्र्याएको हो ।
करको दरमा हेरफेर
सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा सवारी साधनमा लाग्ने भन्सार तथा अन्तःशुल्क र सडक करका दर पुनःलागु गरेको छ । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सार दर र अन्तःशुल्कमा सहुलियत दिएको थियो ।
उक्त बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित अर्थमन्त्री महतले १०० किलोवाट भन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएको थियो ।
तर, निवर्तमान अर्थमन्त्री बर्षमान पुनले भने विद्युतीय गाडिमा किलोवाट अनुसार कर बढाएका छन् । अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको बजेटमार्फत इभिमा व्यापक करका दरहरू हेरफेर गरेका हुन् । ५० किलोवाटसम्मका गाडिमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ । गत आवमा उक्त क्षमताको गाडिको भन्सार १० प्रतिशतमात्रै थियो भने अन्तःशुल्क थिएन ।
विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा बढाउनुपर्ने नाडाका अध्यक्ष चौधरी बताउँछन् ।
हालको ५० प्रतिशतको सीमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने उनको भनाइ छ । साथै, उनले चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडि कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछि कर्जा लिएकालाई मात्रै मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा गर्नुपर्ने उनले बताए ।
नेपालमा विद्युतिय सवारी साधनहरूको आयात बढ्दै गएको भए पनि सोही अनुरुप राजमार्ग तथा सहरहरूमा चार्जिङ्ग स्टेशनहरूको निर्माण हुन सकेको छ । जसले गर्दा विद्युतीय गाडिको व्यापारमा उल्लेखनीय बृद्धि हुन सकेको छेन । नेपालमा विद्युतिय सवारी साधनहरूका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने उनको भनाइ छ ।
अध्यक्ष चौधरीले दुई पाँग्रे सवारी साधनहरूको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गर्नुपर्ने बताए ।
उनका अनुसार नेपालमा आयात भइरहेका दुई पाङग्रे सवारी साधनहरूमध्ये करिब ९८५ भन्दा बढी आयात भारतबाट हुन्छ । तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज र भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज फरक छ । जसले गर्दा सवारी चलाउदा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको अध्यक्ष चौधरीले बताए ।
उक्त समस्याको समाधान गर्न इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटमध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।