images
images

विवादित रिलायन्स स्पिनिङ मिल्सको आइपिओ धितोपत्र बोर्डले रोक्दियो

विवादित रिलायन्स स्पिनिङ मिल्सको आइपिओ धितोपत्र बोर्डले रोक्दियो

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • विवादित रिलायन्स स्पिनिङ मिल्सको आइपिओ धितोपत्र बोर्डले रोक्दियो

    काठमाडौँ / आइपिओ निष्काशन हुने अघिल्लो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ रोकिएको छ । असार २७ अर्थात भोलि बिहीबारदेखि बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न लागेको कम्पनीको निष्काशन अनिश्चितकालका लागि रोकिएको हो । 

    images
    images

    नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बैठकले कम्पनीको आइपिओ निष्काशन रोकेको हो । संसद्को लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण र आइपिओ निष्काशनबारे प्रश्न उठाएपछि बोर्डले कम्पनीको आइपिओ निष्काशन रोक्ने निर्णय गरेको प्रवक्ता डा. नवराज अधिकारीले बताए । 

    उनले भने, “हाललाई बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्काशन रोक्ने र लेखा समितिलाई पाँच दिनभित्र पत्रको जवाफ पठाउने निर्णय गरेको छ ।” मङ्गलबार समितिले बोर्डलाई एक साताभित्र विस्तृत विवरण पठाउन निर्देशनसहितको पत्र पठाएको थियो ।

    “कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रकिया के हो ?” समितिले बोर्डलाई पठाएको पत्रमा प्रश्न गरिएको छ । 

    रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमा आइपिओ ल्याउँदा अर्थात गत आर्थिक बर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा उल्लेख गरेको थियो । अहिले एक बर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको थियो । 

    रिलायन्समा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरूसँग स्वार्थ बाँझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरणसमेत समितिले बोर्डले मागेको छ । 

    प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको कम्पनीको नाफा घट्दै गएको कारण सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा प्रश्न उठेको थियो ।
    २०५२ भदै १९ गतेदेखि सञ्चालनमा रहेको धागो उत्पादक कम्पनी रिलायन्स मिल्सको अध्यक्ष पवन गोल्यान, शशिकान्त अग्रवाल निर्देशक र अक्षय गोल्यान कार्यकारी निर्देशक रहेका छन् । अध्यक्ष गोल्यान र निर्देशक अग्रवाल संस्थापक रहेको यस कम्पनीले उत्पादनको ७० देखि ७५ प्रतिशत हिस्सा भारत, टर्की, भियतनाम, बेलायतलगायतका मुलुकमा निर्यात गर्दछ । 

    इटहरी–१२ सुनसरीमा अवस्थिति यस कम्पनीले सर्वसाधरणका लागि १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ करोड २६ लाख ६ सय कित्ता सेयर जारी तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले पहिलो चरणमा  असार २७ गतदेखि वैदेशिक रोजगारीमा गएकाहरूका लागि सेयर जारी गर्ने जनाएको थियो । 

    कम्पनीले कुल निष्कासनको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थापक लगानीकर्तालाई छुट्याएर बाँकी ६० प्रतिशत अर्थात ११ लाख ५५ हजार ९६० कित्ता सेयर वैदेशिक सर्वसाधरणमा जारी गर्न लागेको थियो । जसमा कम्पनीले १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोषका लागि र सोही बराबरको नै कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी रहने ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधरणमा जारी गर्ने भन्दै आह्वान पत्रसमेत प्रकाशित गरेको थियो ।

    कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आइपिओ ल्याउने तयारीमा रहेको कम्पनीको सेयर खरिद गर्नका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक हुने देखिएको थियो । 

    न्यूनतम ५० कित्तादेखि २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने गरी आइपिओ जारी गर्ने तयारी गरिरहेको कम्पनीले जारी गरेको वित्तीय विवरण नै शंकास्पद रहेको भन्दै अर्थसमितिमा समेत आइपिओबारे प्रश्न उठेको थियो । चौतर्फी विवाद भएपछि बोर्डले कम्पनीको आइपिओ निष्काशन रोक्ने भएको छ । 

    कम्पनीको वित्तीय विवरण 

    सर्वसाधारणसँग उच्च मूल्यमा सेयर बिक्री गरेर लगानी भित्र्याउन चाहेको भए पनि कम्पनीको वित्तीय विवरण भने आशाजनक छैन । विगतका बर्षभन्दा आम्दानी खुम्चिदै गएको कम्पनीमा सर्वसाधारणको लगानी कसरी सुरक्षित हुन सक्छ ? भन्दै लगानीकर्ताहरूले समेत रिलायन्स मिल्सको आइपिओबारे तीव्र आलोचना गरेका थिए ।  
    यस कम्पनीले आर्थिक बर्ष २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ, आर्थिक बर्ष २०७८/७९ मा १ अर्ब ४ करोड रुपैयाँ, आर्थिक बर्ष २०७९/८० मा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । 

    त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी आर्थिक बर्ष २०७७/७८ मा ५३.९१ प्रतिशत, आर्थिक बर्ष २०७८/७९ मा ६१ रुपैयाँ १२ पैसा र आर्थिक बर्ष २०७९/८० मा ५४ रुपैयाँ १२ पैसा रहेको छ । 

    चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार भने कम्पनीको प्रतिसेयर आम्दानी २.०८ पैसामा खुम्चिएको छ । गत बर्ष चैतसम्म कम्पनीको यस्तो आम्दानी ५४ रुपैयाँ १२ पैसा रहेको थियो । ९ महिनामा कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा करिब ९७ प्रतिशत कम २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । 

    गत असारसम्म १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस बर्ष ३९ करोड ९७ लाख रुपैयाँभन्दा बढी मात्र नाफा गरेपछि नाफामा दबाव पुगेको देखिन्छ । 

    त्यस्तै, गत असारसम्म २४ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस बर्ष ३७ करोड ३३ लाख रुपैयाँभन्दा यस्तो खर्च गरेको छ । गत आर्थिक बर्षको असारसम्म १० अर्ब रुपैयाँभन्दा बढी सञ्चालनबापत आम्दानी गरेको कम्पनीले यस बर्ष भने यस्तो आम्दानी ७ अर्बमा सीमित गरेको छ । 

    वस्तु बिक्री खर्चबाट असार मसान्तसम्म ८ अर्ब २३ करोड रुपैयाँ रहेकोमा यस बर्ष ६ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ५ पइैसा रहेकोमा चालु आर्थिक बर्षको ९ महिनामा घटेर १७९ रुपैयाँ ४५ पैसामा झरेको छ । विद्युत महसुलबापतको ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ घटाएर गणना गरिएकोले नेटवर्थ घटेको कम्पनीले स्पष्टिकरण दिएको छ । 

    चैतसम्म कम्पनीको कुल सम्पत्ति १४ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको देखिएको छ । त्यस्तै, कम्पनीको कुल दायित्व ७ अर्ब २१ करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापकतर्फ ८९.८६० प्रतिशत सेयर स्वामित्व रहेको छ । योग्य संस्थागत लगानीकर्ताका लागि ४.५६ प्रतिशत आइपिओ बिक्री गरिसकेको कम्पनीले ६.०८४ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । 

    उक्त आइपिओ बाँटफाँटपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । उक्त रकमबाट कम्पनीले उद्योगको उत्पादन विविधीकरण एवं क्षमता बृद्धिमा उपयोग गर्ने उल्लेख गरेको छ ।

    कम्पनीले चालु आर्थिक बर्षभित्र ४ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । जुन असम्भव हुने बताइएको छ । त्यस्तै, कम्पनीले माघ २ गते जारी गरेको र असार १९ गते जारी गरेको आह्वान पत्रमा तीन आर्थिक बर्षको वास्तविक विवरण नै फरक भएपछि कम्पनीको आइपिओ अझ विवादित बनेको हो ।

    माघमा जारी भएको आह्वान पत्रमा आर्थिक बर्ष २०७९/८० सम्मको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा उल्लेख गरिएको थियो भने असार १९ गते प्रकाशित आह्वान पत्रमा २४२ रुपैयाँ ५ पैसा मात्रै उल्लेख छ । 

    नेपाल विद्यात प्राधिकरणले बक्यौता नतिरेको भन्दै मङ्गलबार साँझ मात्रै उद्योगको लाइन काटिएको कम्पनीलाई आइपिओ निष्काशन रोक्काले अर्को झट्का लागेको छ । विद्युत नहुँदा कम्पनीको नाफा स्वतः प्रभावित हुने भएको छ भने आइपिओ निष्काशन रोकिदा हाललाई लगानीसमेत नआउने भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार