images
images

भरतपुर भ्रमण वर्षमा यात्रुले गाडी भाडामा छुट पाउने

भरतपुर भ्रमण वर्षमा यात्रुले गाडी भाडामा छुट पाउने

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • भरतपुर भ्रमण वर्षमा यात्रुले गाडी भाडामा छुट पाउने

    चितवन / भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन्। 

    images
    images

    चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र सार्वजनिक ओमशान्ति यातायात सेवा प्रालिले भरतपुर प्रवेश गरेसँगै रिङरोड क्षेत्रका लागि भाडामा छुट गरेका हुन् । 

    आज आयोजित पत्रकार सम्मेलनमा चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रीप्रसाद पौडेलले महानगरभित्र प्रवेशसँगै भाडामा छुट दिइने बताए । 

    गोन्द्रङदेखि छ लेन सडक हुँदै पुलचोक, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस ट्रमिनलसम्मलाई पहिलो चरणमा भाडा छुट गरिएको उनले बताए । उनले भने, “ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा  र अन्यका लागि ४० प्रतिशत भाडा छुट दिइनेछ । यो सुविधा बिहीबारदेखि लागू हुनेछ ।”

    ज्येष्ठ नागरिकका लागि नागरिकता वा सामाजिक सुरक्षाप्राप्त गरेको परिचयपत्र अनिवार्य हुनुपर्ने छ। 

    सार्वजनिक सवारीसाधनमा भाडा छुट तथा समायोजनले गर्दा भ्रमण वर्षलाई सफल बनाउन पहिलो चरणमा पूर्वबाट आएका सवारीसाधनमा यो सेवा लागू गरिएको पौडेलले बताए । 

    तीन वटा समितिमार्फत अहिले पूर्वी क्षेत्रमा दुई सय वटा सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका छन् । ती सवारीसाधनलाई पूर्वबाट चारचार मिनेट र नारायणगढबाट पनि चारचार मिनेटको फरकमा छुटाउने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनका लागि सबै सरोकार भएका निकायको भूमिका महत्वपूर्ण रहेको बताइन् । 

    उनले भनिन्, “भरतपुर भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी महानगरपालिकाको मात्रै होइन सबै सरोकारवाला निकायको उत्तिकै भूमिका रहन्छ ।” होटल व्यवसायी, सञ्चारकर्मी, यातायात व्यवसायीसहित अन्य स्थानीयको सहयोगले महत्व राख्ने उनको भनाइ थियो । 

    महानगरको सानो प्रयासमा पहिलो चरणमा पूर्वबाट आउने सवारीसाधनमा छुट दिने व्यवस्था भएको भन्दै व्यवसायीलाई धन्यवाद दिइन् । उनले थपिन्, “अब महानगरभित्रका हरेक पर्यटकीय गन्तव्यस्थलमा जाने, महानगरभित्र चल्ने सबै सवारीसाधनका समितिसँग यस विषयमा छलफल गरेर अघि बढ्छौँ ।” 

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले पश्चिम क्षेत्रका यातायात व्यवसायीसँग छलफल गरेर यस्तै प्याकेज घोषणा गर्न आग्रह गरिने बताए। पर्यटकीय गन्तव्य थपिएसँगै अन्य सेवासुविधाका विषयमा महानगरपालिकाले सोचिरहेको उनले बताए। 

    महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले महानगरपालिकाले भ्रमण वर्षको समयमा गर्ने भनिएका ५२ वटा कार्यक्रममध्ये ४८ वटा सम्पन्न भइसकेको बताए। 

    भ्रमण वर्षका समयमा महानगरमा राष्ट्रिय तथा अन्तर्राट्रियस्तरका कार्यक्रम भइरहेको बताउँदै उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार