images
images

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

    images
    images

    सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए । 

    “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारिता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आह्वान गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।” 

    प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वतयारीका काम समयमै सम्पादन गर्न निर्देशन दिए । 

    तोकिएको समयमा निर्धारित लक्ष्यअनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए । 

    मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताए । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यकताभन्दा बढी कर्मचारी थन्काउने निकायको रूपमा नभइ विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाउनुपर्नेमा जोड दिँदै उनले यस विषयमा नेतृत्वदायी भूमिकासहित आवश्यक प्रबन्ध गर्न मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिए । 

    प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले योजना तथा कार्यक्रम समयमा कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी समयमा सूचना प्राप्ति, सूचनाको गहन विश्लेषण र समस्या समाधानका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्ने जरुरी रहेको पनि बताए । 

    प्रधानमन्त्री प्रचण्डले भने, “समग्र कार्यसम्पादनबाट निरास हुनुपर्ने अवस्था नभए पनि तोकिएको कार्यक्रम तथा सूचकमा पूर्ण उपलब्धि हासिल गर्न थप मेहनतको आवश्यक छ ।”

    उनले  कार्यान्वयन र अनुगमन गर्नका लागि कार्यालय तथा मातहतका निकायका प्रमुखले विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताए । 

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति, कार्यान्वयनमा देखिएका समस्या र चुनातीका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएका थिए ।

    प्रस्तुतिका क्रममा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा अन्तर्गतका निकायका प्रमुख एवं प्रतिनिधिले आआफ्नो धारणा राख्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए । 

    बैठकमा प्रधानमन्त्रीका सल्लाहकार, मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहत निकायका सचिव तथा अन्य कर्मचारीको उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार