काठमाडौँ / दुई वटा भुक्तानी सेवा प्रदायक संस्था सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड र पेवेल नेपाल प्राइभेट लिमिटेडका ६ जना कर्मचारी प्रकाउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि दुई कम्पनीका ६ जना कर्मचारीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । जसमध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् । उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतले थप ६ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
नियामक राष्ट्र बैङ्कले नियामकीय अनुपालनासम्बन्धी छानबिनका लागि बताउँदै जेठ १४ गते सबै बैङ्क खाता रोक्का गरिएको सूचना प्रकाशित गरेको थियो ।
अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैङ्कलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो । सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको छ ।
अवैध सुन तस्करीको खरिद बिक्रीमा यी दुई कम्पनीको संलग्नता रहेको हुनसक्ने सीआईबीले जनाएको छ ।