काठमाडौँ / काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।
नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसमध्ये श्रेष्ठलाई पक्राउ गरेको हो।
नक्सालस्थित नेपाल बाल संगठनको जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा अनुसन्धान गर्न गत वैशाख २७ गते २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, तुलसी नारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, सुमन शाक्य, कृष्ण शंकर शाह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्ड राज प्रधान, रामकाजी कोनेल योगेन्द्र बहादुर शाही, दिपक दास श्रेष्ठ, चिरञ्जिवि तिवारी, प्रविण राज जोशी, मुरारी निधी तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा सेढाईं, अमिन सिंहानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो ।
अनाथ र बेसाहारा बालबालिकाको संरक्षण गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य भएको भन्दै जाहेरी परेको थियो ।