काठमाडौँ / वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी सुरु भएको छ । सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन् । पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडले भइरहेको छ ।
पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार यतिबेला चौथो शिविरसम्मको डोरी टाङ्ग्ने काम सकिएको छ । यतिबेला चौथो शिविरसम्मका विभिन्न क्याम्पहरु आरोहीले भरिएका छन् ।
आराहणको समय नजिकिएसँगै आरोहणलाई सुरक्षित बनाउनका लागि विभागलगायतका विभिन्न कम्पनीहरुले तयारी गरिरहेका छन् । निर्देशक गुरुङले आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि जनशक्ति परिचालन गरिसकेको बताए । ‘फिल्ड कार्यालय स्थापना भइसकेको छ, अनुगमनलाई तीव्र पारिएको छ’, उनले भने, ‘आरोहीलाई परामर्श दिनुका साथै आवश्यक सामग्री हस्तान्तरण समेत भइसकेको छ ।’
सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन विभिन्न काम भइरहेको बताए । ‘जलवायु परिवर्तनका कारण सगरमाथा आरोहणका दौरानमा क्षणभरमै फेरबदल भइरहने मौसमको साथ पनि अनिवार्य हुन्छ’, उनले भने, ‘मौसमको अवस्था अनुसार योजना बनाएर अघि बढेका छौँ ।’
शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुगेको बताए । उनका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन् । उनीहरू आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आउनुभएको छ । सगरमाथाको आधार शिविरमा सजिएका (करित १३ हजार) त्रिपाल, आरोहीको भिडभाडले सगरमाथा क्षेत्रको रौनक बढाएको छ ।
यो यामको सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन पर्यटन विभागले विभिन्न तयारी गरिएको जनाएको छ । विभागका महानिर्देशक चक्र बहादुर बुढाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन ‘रेक्यू चिप’ अनिवार्य गरिएको बताए । उक्त चिप सम्बन्धित एजेन्सीले प्रत्येक आरोहीलाई उपलब्ध गराउनुपर्नेछ । यसले कुन आरोही कहाँ र कस्तो अवस्थामा छन् भनेर जानकारी लिन सकिने विभागको विश्वास छ ।
‘इलेक्ट्रोनिक चिप’ अनिवार्य
पर्यटन विभागले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन आरोहीहरूका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य गरेको छ । यही यामबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । चिपका कारण आरोहीको उद्धारमा सहज हुने भएकाले सरोकारवाला निकायसँगको छलफल र सहमतिपछि लागू गरिएको उनको भनाइ छ ।
उनका अनुसार आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो । यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ । चिप ‘पेन ड्राइभ’ आकारको हुनेछ । यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ । सगरमाथा आरोहण सकेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार ‘सर्च एन्ड रेस्क्यू’ प्रयोजनका लागि यो याममा हरेक आरोहीलाई चिप अनिवार्य गरिएको बताए । ‘कतिपयले जीपीएस ट्रेकिङ भनिरहेका छन् तर यो सर्च एन्ड रेक्क्युका लागि चिप अनिवार्य गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा सबैजसो मुलुकका आरोहीले प्रयोग गर्छन् त्यसैले यो निकै प्रभावकारी हुने अनुमान गरिएको छ’, निर्देशक गुरुङले भने ।
अनुगमन तथा सहजीकरण समिति
सन् २०२४ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालहरुमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतहरुको खटनपटनलगायत अन्य सबै गतिविधिहरुको नियमन तथा सहजीकरण गर्न पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र) गठन गरिएको छ । विभागका महानिर्देशक चक्र बहादुर बुढा संयोजक रहेको १० सदस्यीय समितिमा विभिन्न मन्त्रालय र नियकायका प्रतिनिधि हुन् ।
आधार शिविरमा ‘फिल्ड’ कार्यालय
यस वर्षको वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना गरिएको छ । विभागका अनुसार वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वमा कार्यालय स्थापना गरी अनुगमन, रिपोर्टिङ र समन्वय गर्ने काम भइरहेको विभागले जनाएको छ । आरोहण अवधिभर अर्थात मे २९ तारिखसम्म यो समितिले काम गर्नेछ ।
शीघ्र उद्धारका लागि हेलिकप्टर
विगतमा उद्धारको कार्य ढिला भएको अनुभवलाई मध्यनजर गरी यसपटक चाडो उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने विभागले जनाएको छ । समयमा रिपोर्टिङ नभएर विगतमा आरोहीको ज्यान जाने गरेको भन्दै यो पटकलाई सहजिकरण गर्दै उद्धार प्रयोजनका लागि छिटो प्रक्रियाबाट गर्नेगरी सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचार गरिएको महानिर्देशक बुढाले जानकारी दिए । ड्रोन उडान व्यवस्थापनका लागि पनि सरोकारवाला मन्त्रालयमार्फत व्यवस्थापन, नियमन र अनुगमनको काम प्रभावकारी बनाइने विभागले जनाएको छ ।
चारसयभन्दा बढीले लिए आरोहणको अनुमति
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी कूल चार सय १४ ले अनुमति लिएका छन् । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।
यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत् हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ हजार ६ सय रोयल्टी जम्मा भएको छ । सगरमाथा हिमालबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चौथो शिविर ९साउथ कोल, ७९५० मि।० सम्म बाटो खुलेको विभागले जनाएको छ । यही मे १२ सम्म रोप फिक्सिङको काम सकिएर आरोहण सुरु हुने विभागका निर्देशक गुरुङले बताए ।
आठ हजार हाराहारीले चढे सगरमाथा
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युनिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
यो सन् २०२२ सम्मको तथ्याङ्क हो । सन् २०२३ को आरोहण जोड्दा यो संख्या करिब आठ हजार पुग्छ । उक्त वर्ष सगरमाथा चढ्न चारसय ७८ जनाले अनुमति लिएका थिए । तीमध्ये कतिले सफल आरोहण गरे यकिन विवरण विभागसँग छैन । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।