सहरी कृषि अर्थात कौसी खेती बढ्दो सहरीकरण, सहरमा मानिसहरूको सहरमा चाप र जमिनको अभावसगै विकसित हुँदै गएको एक खेती प्रणाली हो । घरको छत र कौशीलाई आराम गर्ने चिया कफि पिउने, व्यायाम गर्ने, जस्तो रमाइलो स्थानको रूपमा लिइन्छ जसमा पारिवारिक सदस्य बाहेकको पहुँच न्यून नै हुन्छ । यी नै छत र कौशीमा प्रशस्त सम्भावनाहरू छन् तर हालसम्म यसको भरपुर सदुपयोग भएको पाइदैन ।
यहाँ बसेर छिमेक तथा वरपरको दृश्यको आनन्द लिन तथा मन बहलाउन साथै, हरियाली कायम गर्दै रङ्गीविरङ्गी फूल, तरकारी, फलफूलका बिरूवाहरू लगाई बगैँचा स्थापना गर्दा घरको शोभा पनि बढ्छ । कृषि पेसामा मेरो गहिरो अभिरुचि छ । करिब १० वर्षदेखि म कृषि कर्ममा विशेषगरी कौसीखेतीमा रमाइरहेको छु । मैले काठमाडौँको स्वयम्भुस्थित आफ्नै निवासको छतमा करिब २४०० स्क्वायर फिट क्षेत्रफलमा खेती गरिरहेको छु । मैले संसारका धेरै देशहरू घुम्ने अवसर पनि पाएँ । अन्य देशहरूले कृषिमा गरेको विकास आधुनिककरण र प्रविधिको प्रयोग हेर्दा अचम्मित नै भएको छु ।
विदेशमा कौसीमा मात्र होइन घरको आठौँ/नवौँ तलाको कोठाभित्र पनि खेती गरेको प्रत्यक्ष देखेँ । अचम्म लाग्यो, अनि आफैँ सोचे यहाँ यसरी गर्न सकिन्छ भने स्वर्ग जस्तो मेरो देशमा असम्भव होला र ? त्यसपछि मैले पनि कृषिमा केही गर्ने सपना जागृत भयो । सन् १९९६ मा जापानमा हुँदा मैले देखेको त्यो सपनालाई मूर्तरूप दिन करिया, जागिर, पढाइ, परिवारजस्ता विविध कारणले सकिरहेको थिइनँ ।
समय बित्दै जाँदा, कोभिडका कारण लकडाउन भयो । सबै कामकाज बन्द भएँ । मलाईचाहिँ कोभिडको समय अवसर जस्तै बन्न पुग्यो । त्यो समयमा घरमै बसेर बासी तरकारी फलफूल उपभोग गरिरहनु पर्दा अब त अर्गानिक खानुपर्दछ भन्ने महसुस भएर यसमा लागियो । सुरुवाती अवस्थामा त्यति ज्ञान थिएन । पहिलो चरणमा ब्रोकाउली लगाएको थिएँ, उत्पादन राम्रो भयो, त्यसैबाट हौसिएर यहाँसम्म आइपुगेको छु ।
मेरो कौसीबारीमा सुनिरहेको/देखिरहेको र प्रायः सबै नेपालीको भान्सामा पाकिरहने तरकारीदेखि हरेकले खाने फलफूलसम्म फलिरहेको छ । सुन्तला, मुन्तला, कागती, काँक्रो, स्याउ, साग, स्ट्रबेरी, खुर्सानी, काउली, बन्दा, निम, ड्रयागन फ्रुट, अम्बा, भन्टा, पेपिमेलन, सिजन तथा अफ सिजन फल्ने सबै फलाइरहेको छु । अकबरे खुर्सानीले एकदमै राम्रो नतिजा दियो । यहाँ विविध क्षेत्रबाट रिसर्च गर्ने विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, अवलोकनकर्ता गर्न आउनुहुन्छ । प्रोत्साहित गर्नुहन्छ । उहाँहरू मबाट प्रेरित हुनुहुन्छ, खुसी लाग्छ ।
कौसीखेतीबाट आर्जन भएको केही अशं मानव सेवामा पनि सहयोग गरिरहेको छु । यसलाई अझ बढाउन सकिन्छ भन्ने सोच छ । कौसीखेतीमा लागेपछि शरीरलाई आवश्यक व्यायाम तथा कसरत सबै पुग्दो रहेछ । कंक्रिटको सहरमा मीठो हावा चल्छ । चराचुरुङ्गीहरू आउँछन् । सबैभन्दा ठुलो कुरा विषादीरहित तरकारी फलफूलहरू उपभोग गर्ने सौभाग्य मिलेको छ ।
कौशीखेती गर्दा केके कुरामा ध्यान दिने ?
कौसीखेती गर्दा सबैभन्दा बढी मलजल, बिउ बिजनलगायतका कुरामा ध्यान दिनुपर्छ । मैले ‘जिरो कस्ट’ र ‘जिरो वेस्ट’लाई विशेष प्राथमिकता दिएको छु । घरको फोहोरलाई बाहिर फाल्ने गरेको छैन । फोहोर र अनावश्यक बस्तुलाई कौसीमा कुन रूपमा उपयोग गर्न सकिन्छ त्यसरी नै प्रयोग गरेको छु ।
मलको लागि आफ्नै घरका फोहोरमैला, तरकारीदेखि भान्साका विविध अनावश्यक वस्तुहरूलाई गड्यौला मलको साथमा प्रयोग गर्दै आइरहेका छु । घरमा प्रयोग भएर बिग्रिएका सामानहरूको पनि प्रयोग भइरहेको छ । माटो, कोकोपिट, गड्यौला मलको राम्रो प्रयोग छ । यो खेती विशुद्ध अर्गानिक खेती हो । बिउबिजन सुरुवाती अवस्थामा आयातित थिए । अहिले कुनै रैथाने पनि छन् ।
तिनलाई विकास गरेर कुनै बोटबिरुवाहरूलाई कलमीको माध्यमबाट प्रसारण गरी, साथीभाइ आफन्तहरूलाई पनि पु-याइएको छ । कृषिमा रुचि भएकै कारण आफू पनि कृषिमा संलग्न हुने र प्राप्त उपलब्धबाट अरुलाई पनि प्रोत्साहित गर्ने उद्देश्य छ ।
‘अर्वान फार्मिङ’ मेरो प्रमुख अभियान हो । नेपाल कृषि प्रधान देश भएको कारण ‘रुलर फार्मिङ्’ पनि प-यो । कृषिलाई आधुनिकिकरण गर्ने र यसबाट जिविकोपार्जन मात्र नभई आयआर्जनको प्रमुख स्रोत बनाउने र त्यसैबाट आर्थिक स्वावलम्बन हुने भन्ने नै प्रमुख अभियान हो र त्यो मैले हेर्दा सम्भव पनि छ ।
कौसीखेतीलाई महाअभियानको रूपमा अघि बढाउनुपर्छ
कौसीखेतीबाट म अन्य मानिसलाई पनि प्रोत्साहित गर्न चाहान्छु । कृषि प्रधान देशका हामीले विदेशबाट आयातित विषादीयुक्त तरकारी फलफूल बढीभन्दा बढी मूल्यमा खरिद गरी उपभोग गर्नुभन्दा जमिन, खेतबारी हुनेले खेतबारीमा अन्यथा, कौसीमा भए पनि अहिलको अत्याधिुनिक प्रविधिहरू अपनाएर कमसेकम आफूलाई आत्मनिर्भर बनाउँ भन्ने मेरो अभियान हो । त्यसका लागि मानिसहरूलाई सहजीकरण गर्ने, अनुभव सेयर गर्ने र यसलाई महाअभियानको रूपमा अघि बढाउने लक्ष्य छ ।
हामी प्रदुषित वातावरणमा बसिरहेका छौँ । महानगरले एकदिन मात्रै फोहोर नउठाए दुर्गन्ध फैलिन्छ । समस्या छन् तर समाधान पनि हामीसँगै छ । इच्छाशक्ति र रुचि भयो भने सबैकुराको उपयोग गर्न सकिन्छ । हामी बसेको वातावरणलाई हराभरा बनाउने, जोगाउने हाम्रो उद्देश्य हो ।
पर्यावरण छैन त कोही/केही छैन । वातावरणको साथै, हाम्रो प्रत्यक्ष स्वास्थ्य र परिवारको आर्थिक अवस्थाको लागि पनि कौसीखेती एकदमै अत्यावश्यक छ । त्यसैले यसलाई महाअभियानको रूपमा अघि बढाउनुपर्छ ।
कमसेकम आफ्नो घरका फोहोरमैलालाई पुनः प्रयोग गरी तरकारी र फलफूलमा मात्र परिवारलाई आत्मनिर्भर बनाउन सके देशको लागि पनि योगदान हुन्छ । यस अभियानमा साथ दिने कोही इन्छुक हुनुहन्छ भने आफूले जानेको ज्ञान सिप र प्राविधिक पक्षहरूको लागि म सधैँ साथमा हुनेछु ।
(कौसी खेती अभियान्ता नारायण अधिकारीसँग कृषि ज्ञान पत्रिकाका लागि सुजन नेपालीले गर्नुभएको कुराकानीमा आधारित )