images
images

ककनीको ब्रान्ड बन्दै स्ट्रबेरी

ककनीको ब्रान्ड बन्दै स्ट्रबेरी

स्ट्रबेरी र रेम्बो ट्राउट माछाको हब मानिएको ककनी एग्रो टुरिजमको उत्कृष्ट गन्तव्य भए पनि सडकका कारण पर्यटकीय स्थान ओझेलमा पर्दै आएको छ ।

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • ककनीको ब्रान्ड बन्दै स्ट्रबेरी
    images
    images

    स्ट्रबेरीलाई भूईंऐसेलु अर्थात भुइँकाफल पनि भनिन्छ । यो फ्रागार्या प्रजातिको बिरुवा हो । विश्वव्यापी रूपमा खेती गरिने यो फलको विशेष सुगन्ध छ । पाकेपछि रातो रङ्गको हुने भुईँकाफललाई प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेकको रूपमा समेत खाने गरिन्छ ।

    हावापानीको दृष्टिकोणले शीतोष्ण प्रदेशीय मानिए पनि यसका विभिन्न जातहरू समशीतोष्ण प्रदेशमा भइरहेको छ । पौष्टिकताको हिसाबले महत्त्वपूर्ण स्ट्रबेरी खेती गरेर प्रशस्त आम्दानीसमेत गर्न सकिन्छ । सिजनको समयमा स्ट्रबेरीको मूल्य नेपाली बजारमा ७ सय रुपैयाँदैखि एक हजार रुपैयाँसम्म पर्छ ।

    यदी तालिम र परामर्श लिएर स्ट्रबेरी खेती गर्ने हो भने यसको बजार निकै ठुलो रहेको छ । नेपालका विभिन्न जिल्लाहरूमा स्ट्रबेरी खेती भएको पाइए पनि पछिल्लो समय नुवाकोट जिल्लाको ककनी स्ट्रबेरी हबको रूपमा चिनिन थालेको छ ।  

    ककनी क्षेत्रमा स्ट्रबेरी खेती करिब २५ बर्षअघि देखि नै सुरु भएको हो । नमुन्चेत कृषि फर्मका छेसाङ तामाङका अनुसार ककनी स्ट्रबेरीको लागि नेपालकै ठुलो खेती हो । २०४९/०५० सालअघि यहाँ मूला, मकै कोदो मात्रै उत्पादन हुने गरेको यस क्षेत्रका स्थानीयको जीवनशैलीमा स्ट्रबेरीले ठुलो परिवर्तन नै ल्याइदिएको छ ।  

    Chhesang.jpg

    बुवाआमाले सुरु गर्नुभएको स्ट्रबेरी खेतीलाई छेसाङले अघि बढाएको ६ बर्ष जति भयो । ककनीको स्ट्रबेरी काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरूमा पुग्छ । अन्तर्राष्ट्रिय बजारसम्म ककनीको स्ट्रबेरी पु-याउने उनको लक्ष्य छ । करिब ६ रोपनी क्षेत्रफलमा छेसाङ्ले स्ट्रबेरी रोपेका छन् । उनका अनुसार स्ट्रबेरी खेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन । किनभने यो २० देखि ३० सेन्टिमिटरको फरकमा मल्चिङको प्रयोग गरेर तीन लाइनमा रोपिन्छ । 

    ककनीमा करिब ४ सय घरधुरीले स्ट्रबेरी खेती गर्छन् । अन्य किसानहरूको स्ट्रबेरी खेतीका लागि पनि छेसाङले बिरुवा, प्राविधिक, मलजलदेखि बजारीकरणमा समेत सहयोग पु¥याएका छन् । उनको सक्रियतामा ककनीको स्ट्रबेरी सङ्कलन गरेर लेवलिङ र प्याकेजिङ गरी बजारमा पठाइन्छ ।

    stoberry.jpg

    आफ्नो आइडिया र सहयोगमा ककनीमा स्ट्रबेरी खेती विस्तार भएको देख्दा उनी दङ्ग छन् । भन्छन्, “परम्परागत खेतीमा उत्पादन र उत्पादनको गुणस्तर राम्रो थिएन । तर, अहिले खेती प्रविधि नयाँ मात्रै छैन गुणस्तर पनि राम्रो छ । पहिले २० केजी फल्ने ठाउँमा अहिले ५० केजी फलाएका छन् ।”

    पहाडी भूभाग भएको कारण थोपा सिँचाइको सट्टा स्प्रिङ्कल प्रविधिद्वारा सिँचाइ गरिएको छ । खासमाचाहिँ स्ट्रबेरी खेतीका लागि थोपा सिँचाइ गर्नुपर्ने उनी बताउँछन् । 

    उनका अनुसार परम्परागत कृषिबाट बर्षमा १०/१२ हजार रुपैयाँ आम्दानी गर्न नसक्ने किसानहरूले पनि स्ट्रबेरी खेतीबाट १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । कार्तिकदेखि बैशाखसम्म स्ट्रबेरी टिप्ने (हार्भेस्ट) गर्ने सिजन हो । बैशाखपछिचाहिँ यहाँका किसान अर्को बर्षको बालीका लागि तयारी गर्छन् ।

    बिरुवा उत्पादनको तयारी गर्ने, पोलिब्याग भर्नेलगायतको काममा अफसिजनमा ककनीका किसान व्यस्त देखिन्छन् । स्ट्रबेरी खेतीमा एक बर्षको रिसाइकलिङ प्रक्रिया हुने छेसाङले बताए । “बैशाखमा बिरुवाको लागि तयारी, जेठमा पोलिथिन, माटो मलहरू मिलाउने काम हुन्छ । असार र साउनमा बिरुवा बनाइन्छ । भदौको पहिलो हप्ताबाट रोप्न थालिन्छ,” उनले भने । 

    उनका अनुसार स्ट्रबेरी र रेम्बो ट्राउट माछाको हब मानिएको ककनी एग्रो टुरिजमको उत्कृष्ट गन्तव्य हो । तर, सडकका कारण पर्यटकीय स्थान ओझेलमा परेको उनको भनाइ छ ।

    कृषि पर्यटनलाई प्रवद्र्धनका गर्नका लागि प्रत्येक फर्ममा अतिथिहरू आउने र बस्ने व्यवस्था गर्ने, तालिम सञ्चालन गर्ने, 'फार्मस्टे' सञ्चालन गर्ने, उत्पादनको कम्तिमा ३० प्रतिशत स्ट्रबेरी फार्मबाटै बिक्री गर्ने, ककनीको स्ट्रबेरीलाई ब्राण्डिङ गर्ने, बजार मूल्य एउटै बनाउनेलगायतका दर्जन योजना छेसाङसँग छ ।

    Chhesang tamang.jpg

    बाटोको सुविधा नहुँदा योजना कार्यान्वनमा समस्या भएको उनको गुनासो छ ।

     “कृषि क्याम्पसहरूले ओजेटीका लागि ६ महिनासम्म विद्यार्थीहरू राख्न आग्रह गरेका छन् । तर, राम्रो सुविधा नभएको कारण अहिलेसम्म विद्यार्थीहरू राख्न सकेका छैनौँ,” उनले भने । 

    ककनी काठमाडौँको बालाजुबाट १८ किलोमिटर टाढा छ । ककनी हाइटमै पुग्ने हो भने २० किलोमिटर छ । नुवाकोटको पासाङल्हामु सडक खण्ड निकै जिर्ण भइसकेको छ । हिउँदमा धुलो र बर्षामा चिप्लो÷हिलो मात्रै हैन, अप्ठ्यारो बाटोमा यात्रा गर्न र ढुवानी गर्नका लागि प्रमुख समस्या बाटो नै भएको उनको ठहर छ । २० किमीको यात्रा गर्न डेढ घण्टा लाग्ने गर्छ । काठमाडौँ–ककनीका लागि एक घण्टामा एउटा मात्रै लोकल गाडी चल्छ ।

    “पहिले ककनी पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध थियो । गाडीहरूको आवत जावतले सडक व्यस्त हुन्थ्यो भने अथितिले यहाँको होटलहरू भरिन्थे,” छेसाङ सम्झन्छन् । उनका अनुसार बाटोको कारणले पछिल्लो समय घुमफिरको रोजाइमा ककनी सायदै पर्ने गर्छ । जसले गर्दा स्थानीय होटल व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ ।

    त्यसो त नेपालमा सडक यातायात सहज नहुँदा कृषिजन्य वस्तु किसानको खेतमै सड्ने गरेको तथ्य लुकेको छैन । त्यस्तै, ढुवानी खर्च र लगानी बढी लाग्दा नेपाली उत्पादन भारतीय उत्पादनको तुलनामा महँगो पर्ने हुन्छ । यसले किसान र उपभोक्ता नै मारमा छन् । 

    अब सडक बन्न लागेकोले आफूमा आश पलाएको र फार्मस्टे लगायतको योजना अघि बढाएको उनले जानकारी दिए । प्लान्ट डेलीभरी, तालिम तथा परामर्श सेवासमेत उपलब्ध गराउँदै आएका उनी अब ककनीलाई स्ट्रबेरीको हबको रूपमा चिनाउने गरी एग्रो टुरिजमको प्रवद्र्धन गर्ने योजनामा छन् ।

    ककनीमा उत्पादन गरिएको बिरुवा देशका विभिन्न फार्महरूमा जाने गरेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूमार्फत बार्षिक ५० देखि ६० हजारसम्म बिरुवा विभिन्न जिल्लामा पुग्ने गरेको उनले बताए । अझै यसलाई देशव्यापी बनाउने लक्ष्य छ छेसाङको ।

    Stobery2.jpg

    स्ट्रबेरी हार्भेस्ट गर्ने सिजनमा बोटबाटै स्ट्रबेरी टिपेर खान काठमाडौँबाट अथितिहरू आउने गरेको उनले जानकारी दिए । उनका अनुसार सिजनको समयमा फर्म भिजिटको लागि प्रवेश गर्नुअघि (प्रतिव्यक्ति १५ सय रुपैयाँसम्म) निश्चित रकम बुझाउनुपर्ने हुन्छ । सोही रकमबाट व्यक्तिले फर्ममा आफैँले टिपेर जति पनि स्ट्रबेरी खान सक्छ । फोटो खिच्न र भिडियो बनाउन सकिन्छ । फर्कने बेलामा एक केजी स्ट्रबेरी कोशेलीको रूपमा फर्मले दिने गरेको छ । 

    स्ट्रबेरीका साथै ककनी रेम्बो ट्राउड माछा, ककनीको मूला, मटरकोशा, काउलीलगायतका तरकारी तथा फलफूल खेतीका लागिसमेत प्रसिद्ध छ । एग्रो टुरिजमलाई प्रवद्र्धन गर्नका लागि सडकदेखि बजारीकरणसम्ममा समस्या रहेको उनले बताए ।

    किसान आफैँले बजार खोज्दा समस्या हुने हुँदा बजारीकरणका लागि संस्थाको आवश्यकता रहेको छेसाङले महसुस गरेका छन् । नेपाली मुद्रा बाहिरिन नदिन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न उनको आग्रह छ । 

    कृषि ज्ञान पत्रिकाबाट

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार