रसुवा / सामुदायिक वनमा आधारित उद्यम तथा आयमूलक कार्यक्रम लागु गर्नुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन् । डिभिजन वन कार्यालयको आयोजनामा सामुदायिक वन उपभोक्ता समूहहरूको छलफल कार्यक्रममा उपभोक्ताहरूले वन तथा वातावरण संरक्षण र आयमूलक कार्यक्रम गर्नुपर्ने बताएका हुन् ।
उत्तरगया गाउँपालिका–२ को दियालेपाखा सामुदायिक वनभित्र भिजिङग्रा नामको जडिबुटीको फल सङ्कलन गरेर चोरी निकासी भएको थाहा पाएकोले डिभिजन वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए । यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ । स्थानीय मायादेवी तामाङले भनिन् “औषधिय गुण भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ ।”
कार्यक्रममा सहभागीहरूले वन डँडेलो नियन्त्रण, ओखर, अलैँची खेती, टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए ।
कुनाघारी सामुदायिक वनका उपभोक्ता समूहका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेती बाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए । उनले भने “हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ ।”
आमाछोदिङमो गाउँपालिका–५ का ब्रानापाखा सामुदायिक वन उपभोक्ता समूहका लाक्पाछिरिङ तामाङले वर्षेनी रोपेको बिरूवा बाख्रा बस्तुले खाने कारण सामुदायिक वनमा समस्या भएको बताए । वनमा लौठसल्ल, डाचेचुक जस्ता जडिबुडी खेती गरेर आयआर्जन गर्न सकिन्छ । “बृक्षरोपण गरेर मात्र भएन, घेराबार गरेर संरक्षण गर्नुपर्छ ।”
सामुदायिक वन महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताइन् । उनले भनिन् “उपभोक्ताले खाली खुट्टा डोकोमा बिरूवा बोकेर बृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जंगलबाट वनजन्य उत्पादन गरी गरिवी निवारणका लागि आयआर्जन मुलक गर्नुपर्छ ।”
न्यौपानेले वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड् दिइन् ।
वनलाई जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सबै उपभोक्ता समुहले समयमा वार्षिक साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने वार्षिक साधारणसभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने बताउँदै उपभोक्ताको माग प्रति ध्यान दिने र त्यस्तो कार्यक्रम तय गर्न आफुन लागि पर्ने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत प्रेमा थापाले बताइन् ।