काठमाडौँ / सत्ता समीकरण फेरबदलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्रेससँग गठबन्धन तोड्नुको कारणबारे स्पष्टिकरण दिएका छन् । संसद्मा उठेका विषयहरूमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेकाले गठबन्धन भत्किएको बताएका हुन् ।
राजनीतिक प्रतिबद्धता र विकासप्रतिको छटपटिको कारणले सोच विचार गरेर नै कदम चालेको बताउँदै उनले राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुने बताए ।
विश्वासको मत लिने समयमा आफ्नो पक्ष राख्ने भन्दै उनले नयाँ सत्ता समिकरणको प्रभाव र तरङ्ग व्यापक भएकोले संक्षेपमा
समिकरण र घटाक्रमबारे बताएका थिए ।
आफूले पछिल्लो घटनाक्रमलाई जिम्मेवारी र गम्भिरतापूर्वक लिएकोसमेत बताएका थिए ।
“व्यक्तिगत रूपमा म समस्या र अप्ठ्यारोमा थिइनँ । न त मेरो पद नै असुरक्षित थियो । काँग्रेस नेतृत्त्व र मबिच व्यक्तिगत रूपमा अविश्वास थिएन । टिकिरहनलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन,” प्रधानमन्त्री प्रचण्डले भने । सम्बोधनको क्रममा उनले ११ महिना लामो साथ र सहकार्यप्रति काँग्रेस सभापति देउवा र अन्य नेताहरूप्रति आधारसमेत व्यक्त गरेका छन् ।
उनले भने – "निजी सम्बन्धमा कम्तिमा मेरो तर्फबाट उत्ति नै सद्भाव छ तर, राजनीतिमा व्यक्तिगतभन्दा माथि राजनीतिक परिणामहरू माथि हुदो रहेछ । अघिल्लो गठनबन्धनमा त्यहिँ भयो । निर्वाचनको समयमा नेकपा माओवादी केन्द्रले जुन तहमा काँग्रेसलाई सघायो त्यहीँ तहमा आफूले सहयोग पाएन भन्ने मनोविज्ञान देशभरी नै थियो ।
त्यसले आपसी विश्वास केही कमजोर बनाएकै थियो । निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्दा त्यसले एउटा अर्को मनोविज्ञान बन्न गयो ।
एउटा परिस्थिति फेरिएर जोडिएपछि कोशी प्रदेशमा त एउटा समूहले माओवादीका बिरुद्ध एक किसिमको विद्रोह नै गर्यो । गठबन्धनको नैतिकताको कसिमा त्यो दण्डित हुनुपर्थ्यो तर त्यसो हुन सकेन बरु भयो पुरस्कृत पो भयो ।
राष्ट्रिय सभा निर्वाचनमा केही पक्षले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्यो । यता काँग्रेस महासमिति बैठकमा विना सन्दर्भ त्यहीँ गठबन्धनको निन्दा जस्तै गरी गठबन्धनले काँग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने बिर्सेर चर्चा परिचर्चा, छलफल र एक हदसम्मको निष्कर्ष नै गठबन्धनविरुद्ध आयो ।
निर्वाचन आउन ४ बर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूप्रति अनावश्यक र बेमौसमको मानमर्दन कतैबाट पनि विवकेपूर्ण र राजनीतिक मान्न सकिएन ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष समाजवादोन्मुख संविधान निर्माणमा मूख्य साझेदार रहेको नेपाली काँग्रेसले महासमितिको बैठकमा स्टलमै राखेर जसरी धर्मको नाममा हस्ताक्षर अभियान चलायो त्यसले काँग्रेसको संविधानप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने ठाउँ बन्न गयो ।
महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्रै होइन त्यसलाई विद्रुपीकरण गरियो र २०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन वितरण गरियो ।
यसरी हामीबिच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्न गयो । सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि पनि हासिल नगरेका होइनौँ तर म त्योभन्दा बढी चाहान्थेँ ।
औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइनँ र अहिले पनि छैन ।
मैले यही सम्मानित सदनमा विश्वासको मत माग्दै गर्दा ‘तेस्रोपटक म प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन यहाँ उभिएको छैन’ भनेको थिएँ ।
एक बर्ष कार्यकाल पूरा भएको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटि नरहने घोषणा नै गरेको थिए ।
म सङ्केतमा केवल यत्ति भन्न चाहान्छु साथीहरूले व्यक्तिका रूपमा मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा मलाई जति न्याय गर्नुपर्थ्यो त्यति गर्नु भएन ।
म सरकारको गतिसँग त्यति सन्तुष्ट छु भनेर मैले पटक पटक भनिरहेकै थिए । मसँग दुई विकल्प थिए औसत–औसत–एभरेज । तदर्थ सरकार चलाएर पदको रक्षा गरिहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार राष्ट्र निर्माणमा लाग्ने ।
मैले दोस्रो विकल्प रोजेँ । त्यो कति जोखिमपूर्ण थियो र त्यो कति जोखिमपूर्ण छ । पछिल्ला दुई तीन दिनको घटनाक्रमहरूले देखाइरहेको छ र हामी सबैले कुनै न कुनै रूपमा त्यसलाई महसुस पनि गरिरहेका छौँ ।
अब यो कति परिणाममुखी हुन्छ त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्नेछ भन्ने मेरो विश्वास छ । आज मात्रै बसेको पुनर्गठित पहिलो क्याबिनेटमा गति लिन सकिएन, जनतालाई परिणाम दिन सकिएन, जनतामा आशा जगाउन सकिएन भने यसको औचित्य सिद्ध हुँदै इतिहासमा भनेर उपप्रधान र माननीय मन्त्रीज्यूहरूमा गम्भिर रुपले भनिसकेको छु ।
कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ । भर्खरै मैले समाचारमा पढेँ । नेपाली काँग्रेसको संसददीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नु भएछ ।
यथार्थ के हो ? अहिले नेपाली काँग्रेसका प्रतिनिधिले भन्नु नै हुनेछ ।
मेरो राजनीतिक प्रतिबद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचिविचारेर नै चालेको छु । यसलाई इमान र बेइमानभन्दा राजनीतिक प्रतिबद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित होला ।
म संसद्मा भएका कुनै पनि दलसँग अविश्वास, आशंका र घृणा होइन । हामी फेरि पनि राष्ट्रिय मुद्दाहरूमा मिलेरै अघि बढ्नुछ । मैले नेपाली काँग्रेसका नेताहरूलाई हार्दिक धन्यवाद पनि दिएको छु । आफुसँग हुँदा इमान र अरुसँग जाँदा बेइमान भन्ने हुँदैन । ”