images
images

यस बर्ष पनि फैलिदै अफ्रिकन स्वाइन फिभर, १५ अर्बबढीको क्षति हुने अनुमान

यस बर्ष पनि फैलिदै अफ्रिकन स्वाइन फिभर, १५ अर्बबढीको क्षति हुने अनुमान

नेपालका करिब ४ लाख किसान परिवारले गर्दै आएको बङ्गुर पालन पेशा नै सङ्कटग्रस्त अवस्थामा

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • यस बर्ष पनि फैलिदै अफ्रिकन स्वाइन फिभर, १५ अर्बबढीको क्षति हुने अनुमान
    images
    images

    काठमाडौँ / नेपालका कम्तिमा २८ जिल्लामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार गत वर्ष महामारीको रूप लिई हजारौँ सुँगुर, बुङ्गुर तथा बँदेलको मृत्युको कारक बनेको यो रोग यस बर्ष पुनः देखिन थालेको हो ।

    पशु सेवा विभागका अनुसार काठमाडौँ, गोरखा, ललितपुर, तनहुँ, कास्की, लमजुङ जिल्ला लगायत २८ जिल्लाका जनावरमा यस रोग पुष्टि भएको छ । रोग पुष्टि हुन थालेपछि सजगता अपनाउनसमेत अधिकारीहरूले आग्रह गरेका छन् ।

    नेपालमा पहिलोपटक २०७९ जेठ २ गते देखिएको यो रोगका कारण १४ लाख घरपालुवा बङ्गुर मात्र नभई जङ्गली बँदेलसमेत उच्च जोखिममा रहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको हो ।

    १४ लाख बङ्गुर र बँदेल उच्च जोखिममा

    परिषदा अनुसार पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारणले करिब १४ लाख घरपालुवा बङ्गुर र जङ्गली बँदेल उच्च जोखिममा रहेको छन् । नेपालका करिब ४ लाख किसान परिवारले गर्दै आएको बङ्गुर पालन पेशा नै अहिले सङ्कटग्रस्त अवस्थामा पुगेको परिषद्ले जनाएको हो ।

    परिषद्का रजिस्ट्रार मनोजकुमार शाहीले स्वाइन फिभर रोगका कारण गत वर्षदेखि नेपालबाट बङ्गुर तथा बङ्गुरको मासु निर्यात बन्द भएको बताए ।

    नेपालमा उत्पादन हुँदै आएको करिब ३६ हजार टन बराबरको बङ्गुरको मासु उत्पादनमा गिरावट आएको र तत्काल रोग नियन्त्रण नभएमा आगामी बर्षहरूमा आयात गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 
    नेपालको अर्थतन्त्रमा कुल गार्हथ्य उत्पादनको करिब ११.५ प्रतिशत हिस्सा पशुपालन क्षेत्रले ओगटेको छ । तर, पछिल्लो समय पशुपालन क्षेत्र लम्पी स्किन, खोरेत, स्वाइन फिभर जस्ता विभिन्न रोगका कारण सङ्कटग्रस्त हुँदै गइरहेको छ ।

    गत बर्ष लम्पीस्किन रोगले करिब १५ लाख ३७ हजार गाई/भैँसी सङ्क्रमित भई ६५ हजार ४ सय पशुको मृत्यु भएको थियो । जसको कारण नेपालमा बार्षिक खर्बौँको क्षति भइरहेको परिषद्ले जनाएको छ ।

    तत्काल नियन्त्रण साढे ५ लाख बङ्गुरमा सङ्क्रमण फैलिन

    विश्व पशु स्वास्थ्य सङ्गठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै रोग नियन्त्रण गर्न नसकेमा सो रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र उक्त रोगबाट सङ्क्रमित पशुमध्ये ६६.६ प्रतिशतको मृत्यु हुने अनुमान परिषद्को छ ।

    अफ्रिकन स्वाइन फिभरको पनि ठूलो महामारी रहेको र यसको उपचार विधि नभएको परिषद्ले जनाएको छ । 
    “विश्व पशु स्वास्थ्य सङ्गठनले हालसम्म कुनै खोप सिफारिस गरेको छैन,” शाहीले भने, “रोग लागेपछि मृत्युदर उच्च छ । रोग नियन्त्रण गर्न चुनौतीपूर्ण छ ।”

    हाल बङ्गुरको मृत्यु र रोग नियन्त्रणमा लाग्ने खर्चलाई मात्र आधार मान्दा प्रति सङ्क्रमित बङ्गुर २७ हजार ९२७ रुपैयाँ प्रत्यक्ष नोक्सान हुने परिषद्को अध्ययनले देखाएको छ ।


    यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब ५ लाख ४३ हजार बङ्गुरमा सङ्क्रमण फैलिने परिषद्को आँकलन छ ।

    जसका कारण करिब ३ लाख ६१ हजार मर्ने र १५ अर्ब १६ करोड ४९ लाख बराबरको आर्थिक क्षति हुने परिषद्को अनुमान छ ।


    उक्त रोग लागेर बङ्गुर मरेमा हुने क्षति, उपचार र रोग नियन्त्रणमा लाग्ने खर्च, सङ्क्रमितपछि जीवित रहेका बङ्गुरको आहारको खर्च लगायतले पार्ने सामाजिक र आर्थिक प्रभाव ठूलो रहेको परिषद्ले जनाएको छ । 

    देशभर कति छ बङ्गुरको सङ्ख्या ?

    नेपालमा कुल १३ लाख ५८ हजार बङ्गुरको सङ्ख्या रहेको परिषद्ले जनाएको छ । बङ्गुरको कुल सङ्ख्यामध्ये कोशीमा ५७.५, लुम्बिनीमा १४.२, बागमतीमा ९.८ र गण्डकीमा ९.३ प्रतिशत आर्थिक नोक्सानीको हिसाबले उच्च जोखिममा रहेको परिषद्को आँकलन छ ।

    विश्व पशु सङ्गठनका अनुसार यो रोग देखिएको ठाउँमा पशुमा फैलिने डर ४० देखि ५० प्रतिशत रहेको छ भने मृत्युदर १०० प्रतिशतसम्म देखिने गरेको परिषद्ले जनाएको छ ।

    यो रोगको विषाणु दिसा, रगत तथा मासुमा लामो समय सम्म बाच्ने भएकाले वातावरणमा समेत लामो समयसम्म सङ्क्रमित हुने र आउदो दिनहरूमा रोग देखा पर्ने उच्च जोखिम रहेको परिषद्ले उल्लेख गरेको छ ।

    करिब ६० प्रतिशत दरबन्दी रिक्त

    अफ्रिकन स्वाइन फिभर रोगको उपचार, रोकथाम तथा नियन्त्रण गर्नका लागि आवश्यक पर्ने महत्वपूर्ण जनशक्ति स्थानीय तहमा रहेको पशु बिचकित्सकहरूको दरबन्दी करिब ६० प्रतिशत रिक्त रहेको र अधिकांश स्थानीय तहका वडाहरूमा पशु स्वास्थ्य प्राविधिकहरूको उपस्थिति न्यून रहेको परिषद्ले जनाएको छ । 

    सङ्घ, प्रदेश र स्थानीय तह बिचको कमजोर समन्वय र सहकार्यका कारण रोग देखिएको लामो समयपछि थाहा हुने र सङ्क्रमण द्रुत गतिमा फैलिई एकदमै छिटो महामारीको रूप लिइरहेको देखिन्छ ।

    पशुमा हुने महामारीविरुद्ध लड्न तत्काल कानुन निर्माणदेखि भेटेरिनरी सेवाको आमुल पुनःसंरचना गरी अस्पताल र जनशक्ति थपी सघन रोग नियन्त्रणमा जुट्न अत्यावश्यक देखिएको र पशु रोगको असरले नेपालको आर्थिक वृद्धिको लक्ष्यमा समेत गम्भीर प्रभाव पर्ने परिषद्ले जनाएको छ । 

    रोगका लक्षणहरू

    अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण हुँदा हुने सुँगुर, बुङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने बताइएको छ ।

    त्यसबाहेक कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लड्खडाउने, तुहिने जस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन् ।

    रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत् यस रोग सर्ने पशु सेवा विभागका डा चन्द्र ढकालले बताए । उनले नेपालमा धेरैतिर सुँगुर–बुङ्गुरहरू घर आसपास फर्म नबनाइकनै पाल्ने गरिएकाले समेत सङ्क्रमण फैलने उच्च जोखिम रहेको बताए ।

    बङ्गुर प्रजातिमा लाग्ने उक्त रोगले पशुमा उच्च मृत्यु हुने, तुहिने, संक्रमण देखिएको ठाउँमा लामो समय बङ्गुर पालन गर्न नसकिने समस्या निम्त्याउँछ । यस्तै, निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउँन खर्च बढी लाग्ने परिषद्ले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार