काठमाडौँ / नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १७ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १६ पुगेको हो ।
देशभरी सञ्चालनमा रहेका पाँचतारे होटल मध्ये पुष २६ गतेसम्म चार वटाले लाइसेन्स नवीकरण नगर्दा नेपालमा दर्ता र नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको विभागल जनाएको छ । होटलले हरेक ५–५ वर्षमा इजाजत पत्र नवीकरण गर्नुपर्छ ।
विभागका अनुसार काठमाडौँमा सञ्चालित याक एण्ड यती, र्याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलले भने इजाजत पत्र नवीकरण गरेका छैनन् ।
पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौँका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १–१ वटा पाँचतारे होटेल रहेका छन् ।
जसमध्ये झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँचतारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा रहेको विभागले जनाएको छ । नवीकरण भएका डिलक्स सहित १६ वटा पाँचतारे होटेलहरुमा दुई हजार तीन सय ४६ वटा कोठाहरु रहेका छन् ।
यी हुन् पाँच तारा डिलक्स र पाँच तारामा वर्गीकरण पाएका होटल
– होटल मेची क्राउन, झापा (पाँच तारा डिलक्स)
– सोल्टी होटल लिमिटेड, काठमाडौँ
– होटल डेला अन्नपूर्ण, काठमाडौँ
– पोखरा ग्राण्ड, पोखरा
– तारागाउँ रिजेन्सी, बौद्ध
– द मल्ल होटल, काठमाडौँ
– होटल साङ्ग्रिला, काठमाडौँ
– टाइगरवान प्रालि, रुपन्देही
– सोल्टी वेस्टेन्ड प्रिमियम, नेपालगञ्ज
– होटल सेन्ट्रल प्लाजा, कोहलपुर
– होटल मेरियट, काठमाडौँ
– होटल द किङ्ग्सबरी, विर्तामोड
– सिटी होटल लिमिटेड, काठमाडौँ
– होटल अलफ्ट, काठमाडौँ
– इच्छा होटल, बारा
– होटल ल्हासा इन्टरनेसनल, काठमाडौँ
– अकामा होटल, काठमाडौँ
कसरी हुन्छ वर्गीकरण ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ माघ २०७७ मा राजपत्रमा एक सूचना जारी गर्दै एकतारेदेखि पाँच तारे डिलक्ससम्मका होटलको वर्गिकरणका लागि मापदण्ड तोकेको थियो । सो मापदण्ड पूरा गर्ने होटलले स्तर अनुसार तारा पाउँछन् । होटल रहने क्षेत्रफलदेखि संरचना सहितको अनुगमनपछि विभागले स्तर निर्धारण गर्छ ।