काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रा.लि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि. र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लिको आयोजनामा सुरु भएको चौँथौँ नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी बिहीबारदेखि सुरु भएको छ । विगतका वर्षहरूझैँ भृकुटीमण्डप, काठमाडौँमा सुरु भएको उक्त प्रर्दशनीको उद्घाट्न नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका हुन् ।
सो प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् । नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू सम्मिलित छन् – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्दछ ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने छ भने नेपाल फाइभ पि प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने छ ।
उक्त प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरूसहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ ।
सो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालका उद्योगहरूलाई आवश्यक उचाइमा लिएर जानेछ भन्ने कुरामा विश्वस्त रहेको आयोजकको भनाइ छ । उक्त प्रदर्शनी मार्फत सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरू, नविनतम् प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरूबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।
“यो प्रदर्शनी सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्र्याउने छ”, नेपाल फाईभ पि एक्स्पोका आयोजकले दावी गरेका छन् ।
नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउन चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ ।