काठमाडौँ / सन् २०२३ को नोभेम्बरमा एक लाख बढी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा विभिन्न मुलुकहरूबाट एक लाख ८ हजार ६३० पर्यटक नेपाल घुम्न आएका हुन् ।
यद्यपी यो संख्या अघिल्लो महिनाको भन्दा ८ हजार ६७७ ले कमी हो । अघिल्लो महिना (अक्टोबर) मा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका थिए ।
पर्यटकीय सिजन चलिरहेकाले पर्यटक आगमन उत्साहजनक रहेको बोर्डले जनाएको छ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म पर्यटनको मुख्य सिजन मानिन्छ । यस सिजनमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरि यो सिजनमा धेरैजसो पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पाहुना आइरहेका छन् ।
योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख १८ हजार ३०८ पुगेको छ । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या मात्र हो । ‘बाई बस’ स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको संख्या यसको तीन गुणा बढी रहेको पर्यटन बोर्डको अनुमान छ । नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । १० लाखको सरकारी लक्ष्य भेट्न अब बाँकी एक महिनामा करिब ८० हजार पर्यटकको मात्र खाँचो छ ।
यस महिना नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकहरू रहेका छन् । नोभेम्बरमा भारतबाट मात्रै २४ हजार ४४३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यस्तै, अमेरिकाबाट ११ हजार ४६१ जना आउँदा बेलायतबाट ६ हजार १३८ आएका छन् । चीनबाट ७ हजार ६०१, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ९६२, जर्मनीबाट ३ हजार ५१२, फ्रान्सबाट ३ हजार २०५, बंगलादेशबाट ३ हजार ७६१ र श्रीलंकाबाट ३ हजार २२८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
नोभेम्बरमा कुन देशबाट कति पर्यटक आए ?
भारत– २४ हजार ४४३
अमेरिका– ११ हजार ४६१
बेलायत– ६ हजार १३८
चीन– ७ हजार ६०१
अष्ट्रेलिया– ५ हजार ६०
जर्मनी– ३ हजार ५१२
फ्रान्स– ३ हजार २०५
बंगलादेश– ३ हजार ७६१
श्रीलंका– ३ हजार २२८