images
images

किन घट्यो एलपी ग्यासको आयात ?

किन घट्यो एलपी ग्यासको आयात ?

महँगी र मन्दीको असर : घट्यो खाना पकाउने ग्यासको प्रयोग

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • किन घट्यो एलपी ग्यासको आयात ?

    काठमाडौँ / नेपालमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आयात घटिरहेको छ । सरकारले इन्डक्सन चुलोको प्रयोगलाई प्राथमिकता दिएसँगै ग्यासको आयातमा कमि आएको व्यवसायीहरू बताउँछन् । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तीन महिनामा (साउनदेखि असोजसम्ममा) ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको १३ करोड २५ लाख ७७ हजार ६८६ केजी एलपी ग्यास आयात भएको छ । जुन गत आव २०७९/८० को सोही अवधिको तुलनामा २२.१९ प्रतिशत अर्थात ३ अर्ब ३१ करोड ६४ लाख ६६ हजार रुपैयाँभन्दा कम हो । 

    गत आवको असोज मसान्तसम्ममा १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँ बराबरको १२ करोड ३६ लाख ५ हजार ६१६ केजी खाना पकाउने एलपी ग्यास आयात भएको तथ्याङ्क छ । 

    गत बर्षको तीन महिनामा ग्यास आयातबाट २ अर्ब ७८ करोड ७० लाख ४४ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको थियो । यस्तै, आवको २०७८/७९ को असोज मसान्तसम्ममा १२ अर्ब १८ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १२ करोड ३८ लाख ४० हजार ७९८ केजी ग्यास आयात भएको थियो । 

    किन घट्यो आयात ?

    नेपाल एलपी ग्यास एशोसिएसनका महासचिव जितबहादुर कार्कीले बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यास आयातमा कमी आएको जानकारी दिए । आर्थिक मन्दीका कारण पछिल्लो समय ग्यास विकल्पको रूपमा प्रयोग हुन थालेको उनको बुझाइ छ । 

    सरकारले बजेटमा नै व्यवस्था गरेर विद्युतीय चुलोलाई प्राथमिकता दिइरहेको छ । 

    “विद्युत आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको छ” उनले भने ।

    बिजुलीको प्रयोग ग्यासभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेको महासचिव कार्कीले बताए । 

    विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकोमा गत आर्थिक वर्षमा भने पाँच प्रतिशतले खपत घटेको छ । 

    विश्वव्यापी रूपमा देखिएको मन्दी र उच्च मूल्य वृद्धिका कारण नेपाली बजार, होटल तथा व्यवसायिक क्षेत्रहरूका साथै आम उपभोक्ता पनि मारमा परेका छन् । 

    महँगी र मन्दीका कारण सर्वसाधारणले खर्च कटौती गर्दा ग्यासको खपत कम भएको महासचिव कार्कीले बताए । 

    ५ बर्षमा करिब २ खर्बको ग्यास आयात  

    भन्सार विभागको तथ्याङ्क अनुसार विगत ५ बर्षमा करिब २ खर्ब बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ । 

    विगत ५ बर्षमा भारतलगायतको देशहरूबाट नेपालमा १ खर्ब ९८ अर्ब १५ करोड ८६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको हो । 

    तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ५१ करोड ४३ लाख ४० हजार ७६८ केजी आयात भएको छ । यो अघिल्लो आवको तुलनामा ७ अर्ब ३९ करोड ६८ लाख ६३ हजार रुपैयाँ भन्दा कम हो । 

    यस्तै, आव २०७८/७९ मा ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँ बराबरको ५३ करोड ५८ लाख ६५ हजार ४१५ केजी ग्यास आयात भएको थियो । 

    आव २०७७/७८ मा ३६ अर्ब १५ करोड २९ लाख ११ हजार रुपैयाँ बराबरको ४७ करोड ७४ लाख २२ हजार २९६ केजी, आ.व. २०७६/७७ मा २ अर्ब ७८ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको ५ करोड ४ लाख ९ हजार ५०९ केजी, आव २०७५÷७६ मा ३५ अर्ब ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँ बराबरको ४२ करोड ८८ लाख ४० हजार १५७ केजी ग्यास आयात भएको विभागको तथ्याङ्क छ ।

    ४४ प्रतिशत घरधुरीले मात्रै प्रयोग गर्छन् ग्यास !  

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार मुलुकभर खाना पकाउन ४४.३  प्रतिशतले ग्यास प्रयोग गर्ने गरेका छन् । 

    पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य १८ सय ९५ रुपैयाँ छ । मुलुकभर ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन् । 

    कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसङ्ख्यामध्ये ६६ लाख ६० हजार ८४१ घरपरिवारले ४४.३ प्रतिशत एलपी ग्यास, ०.५ प्रतिशत बिजुली, दाउरा ५१ प्रतिशत, गुइँठारगोहरा २.९ प्रतिशत, बायोग्यास १.२ प्रतिशत, मट्टितेल प्रयोगकर्ता ०.०५ प्रतिशत, ९२.२ घरपरिवारले बत्ती बाल्न विद्युत प्रयोग गरेको देखाएको छ । अन्य इन्धन ०.१ प्रतिशत प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ । 

    यस्तै, निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । 

    निर्यातभन्दा बढीको इन्धन आयात 

    चालु आवको तीन महिनामा ग्यासको आयात घटे पनि अन्य इन्धनको आयात भने बढेको छ । तथ्याङ्क अनुसार तीन महिनामा कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । 

    तीन महिनामा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात हुँदा ६६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    त्यस्ते, सो अवधिमा २९ अर्ब ९२ करोड १६ लाख चार हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ८७६ किलोलिटर डिजेल, १७ अर्ब १० करोड ८७ लाख ३९ हजार रुपैयाँ बराबरको एक लाख ६५ हजार ५९४ किलोलिटर पेट्रोल, ४ अर्ब ७० करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको ४३ हजार ५८० किलोलिटर हवाई इन्धन आयात भएको विभागको तथ्याङ्क छ । 

    तथ्याङ्क अनुसार तीन महिनामा इन्धन आयात ५.७ प्रतिशतले वृद्धि भएको छ । बजारमा इन्धनको खपत बढेसँगै आयातमा समेत वृद्धि भएको हो । 

    पेट्रोलियम पदार्थले मात्रै कुल वस्तु आयातको १८ प्रतिशत हिस्सा ओगटेको छ । तीन महिनामा विभागले पेट्रोलियम पदार्थको आयात गरेर २६ अर्ब ७६ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार