images
images

चिनीको चिन्ता : गुलियो होला त तिहार र छठ ?

चिनीको चिन्ता : गुलियो होला त तिहार र छठ ?

“अब चिनी सटेज हुने कुरै नगरौँ । बजारमा चिनी पाइदैन भन्ने हल्लाको पछि नलाग्न उपभोक्ताहरूलाई मेरो आग्रह छ ।”

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • चिनीको चिन्ता : गुलियो होला त तिहार र छठ ?

    काठमाडौँ / तिहार विशेषगरी फूल र मिठाइहरूको पर्व हो । मिठाइ छठ पर्वमा पनि धेरै प्रयोग हुन्छ तर मिठाइमा मिठास भर्ने चिनी भने बजारमा पाइदैन । चिनीको अभावमा यस बर्ष मिठाइ र फूलको पर्व तिहार र छठ गुलियो नहुने भएको छ । पर्व नजिकिएपछि प्रहरीसहितको सरकारी संयन्त्र जुट्दा पनि चिनीको अभाव भने पूरा गर्न नसकिने भएको हो । बजारमा केही महिना अघिदेखि नै चिनी पर्याप्त छैन। माग अनुसार आपूर्ति हुन नसक्दा कालोबजारी बढ्ने नै भयो । 

    images
    images

    चिनी ल्याउन समयमा नै सहजीकरण गर्ने विषयमा चासो नदेखाए पनि चिनीको खोजी गर्न भने सरकारी संयन्त्र लागि परेको छ । बजारमा चिनी अभाव भएको महिनौ भइसक्यो । चिनी उत्पादक उद्योगीहरू भदौ अघि नै चाडपर्वमा चिनी अभाव हुने विषयमा सरकारलाई सतर्क गराएको बताउँछन् । सरकारले चिनी आयातको पहल सुरु गर्दा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेको थियो । 

    नेपालले ५० हजार टन चिनी नेपाल सरकार – भारत सरकार (जीटूजी)मार्फत भारतबाट ल्याउने बताउँदै भारतलाई पत्रसमेत पठाएको थियो । तर उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाइसकेको थियो । भारतले उक्त प्रतिबन्ध अक्टोबर ३१ पछि पनि गरिसकेको छ । त्यसैले नेपाली बजारमा सहजै चिनी कहिलेदेखि पाइन्छ भन्ने कुराको टुङ्गो लाग्न सकेको छैन । 

    भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनीको कालोबजारी सुरु भएको थियो । अझै पनि बजारमा चिनीको कालोबजारी कायमै छ । दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आएका छन् । 

    साल्टट्रेडिङ कर्पोरेशनले मङ्गलबारदेखि खुद्रा किराना पसलेलाई २० बोराका दरले चिनी उपलब्ध गराएको छ । प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । व्यवसाय दर्ता प्रमाणपत्र, भ्याट÷प्यानको कागजपत्र र पैसा लिएर आउने फर्मलाई चिनी उपलब्ध गराइरहेको कर्पोरेशनका व्यवस्थापक ब्रजेश झा बताउँछन् । उनका अनुसार बिहीबारसम्म कर्पोरेशनबाट ८ सयभन्दा बढी पसलमा चिनी पुगिसेको छ । उनले भने, “काठमाडौँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन् ।” 

    उनका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी ११२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्रीकर्तालाई चिनी बिक्री गरेको हो । कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । 

    सरकारले नियन्त्रणमा लिएको ७ सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्री वितरण गरेको हो । त्यस्तै, एभरेष्ट सुगर मिल्समा भएको चिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आइरहेको छ । व्यवस्थापक झा भन्छन्, “तीन हजार मेट्रिक टन चिनी हामीमार्फत बेच्न लगाउने भनेर दिएको हो ।  बाँकी चिनी कतैबाट पनि आएको छैन ।”

    अझै कर्पोरेशन भारतबाट चिनी आयात गर्न प्रयासरत रहेको उनले बताए । “हामीकहाँ आएको चिनी होल्ड भएको छैन । आएलगत्तै बजारमा पठाएका छौँ । अहिलेको समयमा होल्ड गर्ने कुरा पनि भएन । त्यसैले चिनी कति छ भन्न सकिन्न,”उनले भने । कर्पोरेशनले उपलब्ध गराएको चिनीले सम्बन्धित टोलमा सहजीकरण भएको महसुस आफूहरूले गरेको व्यवस्थापक झाको भनाइ छ । कर्पोरेशनमा भीड पनि घट्दै गएको उनले बताए । भाटभटेनीलगायतका मार्ट तथा डिपार्टमेन्टल स्टोरहरूले मागेअनुसार चिनी पाएको व्यवस्थापक झाको दावी छ । 
     
    सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएका कारण आयात रोकिएको छ । पछिल्लो समय भारतले उक्त प्रतिबन्धलाई अर्को सूचना जारी नभएसम्मका लागि लम्ब्याएको छ । त्यसैले भारतबाट चिनी कहिले आउँछ भन्ने टुङ्गो नलागेको उनले बताए । यद्यपि, कर्पोरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको र अहिले बजारमा आएको चिनीले छठसम्म पुग्ने अनुमान रहेको उनी बताउाछन् । 

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा सूचना अधिकारी आनन्दराज पोखरेल भने अब उद्योगको चिनी पनि एक÷दुई दिनमै सकिने बताउँछन् । उपलब्ध चिनी सकियो भने र इन्डियाबाट पनि आयात भएन भने चिनी अभाव हुने उनले बताए । तिहारकै मुखमा नेपालका उद्योगबाट उपलब्ध चिनी बजारमा गइरहेको छ । अहिले बजारमा प्रतिकेजी ११५ रुपैयाँमै चिनी पाइने उनले बताए । तर तिहार लगत्तै चिनी सटेज हुने उनको भनाइ छ । मार्केटमा फ्लो भएको चिनीले तिहार धान्ने उनको अनुमान छ । अहिले चिनीको सप्लाई म्यानेजमेन्टको जिम्मेवारी सरकारले नै लिएको छ भने विभाग यसबाट पछि हटेको छ । बजारमा १० हजार टन माग भए पनि सरकारले ३ हजार टन मात्रै चिनी भेटेको । अरु चिनी खोज्नका लागि सरकारले चिनीका गोदाम र भन्डारण गरिएका ठाउँ खोज्न प्रहरी नै परिचालन गरेको छ । 

    प्रधानमन्त्री कार्यालयको नेतृत्वमा आपूर्ति तथा वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालयको समन्वयमा चिनीको खोजी भइरहेको छ। माग अत्यधिक हुने समयमा आपूर्ति भने हुन सकेको छैन । महँगो मूल्य तिर्दा पनि उपभोक्ताले किन्न पाइरहेका छैनन्।

    यता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुर नेपाली उत्पादन आउन थालेको कारण बजारमा प्रशस्त मात्रामा चिनी पाइने दावी गर्छन् । “अब चिनी सटेज हुने कुरै नगरौँ । चिनी प्रशस्त मात्रामा पाइन्छ । चिनी छैन भन्ने हल्लाको पछि नलाग्न म उपभोक्ताहरूलाई आग्रह गर्छु,” अर्थ डबलीसँग उनले भने । 

    भारतले पनि ३० हजार मेट्रिक टन चिनी दिइसकेको उनले जानकारी दिए । टाढाबाट ल्याउनु पर्ने र तिहार नजिक आइसकेको कारण उक्त चिनी ल्याउन नसकिएको उनको जिकिर छ । 

    करिब ७ महिना आन्तरिक उत्पादनले धान्ने भएको र अब नेपालमै उत्पादन सुरु भइसकेकोले चिनीको अभाव नहुने उनले दोहोर्याए । “साल्ट ट्रेडिङले एक जना व्यापारीलाई २० बोरा चिनी दिइरहेको छ । लिन जानु पर्यो नि !” उनले भने । साल्ट ट्रेडिङ र खाद्य तथा व्यापार कम्पनीले मोवाइल भ्यानहरू पनि सञ्चालन गरेको छ । सबै ठाउँमा सुविधा नपुगे पनि अभाव भने नहुने उनको दावी छ । 

    प्रवक्ता ठाकुर भन्छन्, “तिहारपछि सबै उद्योगहरू सञ्चालन हुन्छ र बजारमा चिनी प्रशस्तै पाइन्छ । आन्तरिक उत्पादनले नै पुग्छ ।”  अहिले साल्ट ट्रेडिङले एकद्वार प्रणालीबाट चिनी ल्याएको हुँदा समस्या भएको उनी बताउँछन् । उद्योगहरूलाई सोझै छोड्दा सबै उपभोक्ताकहाँ नपुग्ने, व्यापारीहरूले मनोपोली गर्ने भन्दै एकद्वार प्रणाली लागू गरिएको उनले जानकारी दिए । 

    “साल्टबाट वितरण हुने भएपछि मूल्यमा पनि एकरुपता हुन्छ र सबै ठाउँ पुर्याउन सकिन्छ,” प्रवक्ता ठाकुरले भने । 

    अब बजारमा कुनै पनि चिज अभाव नुहने उनको दावी छ । मूल्यका हिसाबले भन्दा पनि आपूर्ति हिसाबले अहिले चिनी उपलब्ध हुनु नै प्रमुख कुरा भएको र नेपाली चिनी बजारमा आइसकेपछि मूल्य पनि घट्ने उनले बताए । साथै, आगामी दिनहरूमा यो समस्या दोहोरिन नदिन आन्तरिक उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार