काठमाडौँ / नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।
उक्त सामूहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य लाल प्रसाद सावा लिम्बुले गरेका हुन् । शोरुमका सफलताका लागि शुभकामना दिँदै सांसद लिम्बुले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रूपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रूपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई धन्यवादसमेत ज्ञापन गरे। उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिती रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा ‘सामूहिक शोरुम अवधारण’अन्तर्गत खोलिएको न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो ।
यसअघि पोखरा, बुटबल र जनकपुरमा तीनवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै, आगामी दिनमा देशभरका बिभिन्न स्थानहरूमा नयाँ शोरुमहरू खोल्ने र उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने जानकारी गराए ।
न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन ।