भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा आइतबार साँझ दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा ९ यात्रुको मृत्यु भएको थियो । सोमबार बिहान मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा ५० यात्रु घाइते भएका छन् । भिजियानगरमको अलामान्डा-कानकटपल्लीको बीचमा रेलहरू एकआपसमा ठोक्किएको थियो ।
मानवीय त्रुटिका कारण दुर्घटना भएको पूर्वी तटीय रेलवेका सीपीआरओ विश्वजित साहुले बताए । विशाखापट्टनम-रायगडा यात्रुवाहक रेलका चालकले सिग्नल मिचेर चलिरहेको विशाखापट्टनम–पलासा यात्रुवाहक रेलसँग ठोक्किएका हो । दुई रेल ठोक्किँदा दुवै रेलका पाँचवटा डिब्बा पटरीबाट खसेका थिए। जसमध्ये ३ वटा डिब्बा अगाडिको रेलका र २ वटा पछिको रेलका थिए।
रेलवे सीपीआरओका अनुसार रातो सिग्नलमा रोकिनुको सट्टा रेल अगाडि बढ्दा सिग्नल ओभरशुट भएको हो । दुर्घटनापछि, उक्त रटमा चलने ३३ रेलको यात्रा रद्ध गरिएको छ । ११ ओटा रेलको यात्रा आंशिक रूपमा रद्द गरिएको छ भने २२ ओटा रेलहरू डाइभर्ट गरिएको छ।
उक्त दुर्घटनामा भारत सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलमन्त्री अश्विनी वैष्णवले भने, “केन्द्र सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ, घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।”
त्यस्तै, आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीले अधिकारीहरूलाई राज्यका मृतकका परिवारलाई १० लाख रुपैयाँ र घाइतेहरूलाई २ लाख रुपैयाँ प्रदान गर्न निर्देशन दिएका छन्।