images
images

झापाको सहकारीले आफ्ना सदस्यलाई बेच्यो जुम्लाको स्याउ

झापाको सहकारीले आफ्ना सदस्यलाई बेच्यो जुम्लाको स्याउ

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • झापाको सहकारीले आफ्ना सदस्यलाई बेच्यो जुम्लाको स्याउ
    images
    images

    झापा / झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए ।

    किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडौँसम्म लगेर बिक्री गरिएको थियो ।

    संस्थाको कृषि क्षेत्रका प्रमुख डा.कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए ।

    झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकेजी रु पाँच सय ८० मा बिक्री गरिएको उनले जानकारी दिए ।

    “हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौँ”, उनले भने, “किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्षरूपमा सघाउँछौँ । उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ ।”

    संस्थाले छ जिल्लामा चार सयको सङ्ख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए । 

    बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको  समस्या नभएको उनको भनाइ छ ।

    संस्थाले यसपालि दसैँंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बीउबिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताए ।

    बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १०  कर्मचारी परिचालन गर्दै आएको छ । 

    एक लाख ५७ हजार नौ सय २० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार एक सय ३०  ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको सङ्ख्यासमेत उल्लेख्य छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार