काठमाडौँ / माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ कात्तिक ३ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने जानकारी दिएको हो ।
कम्पनीको आईपीओ अन्तिम दिन सम्ममा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १० दशमलव ८० गुणा बढी आवेदन हो । जसमध्ये १ लाख २८ हजार ४२० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले असोज १८ गते देखि २२ गते सम्म १२ लाख ८४ हजार २ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।