काठमाडौँ / नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ५ सय रूपैयाँको न्यूनतम् अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको हो ।
अब ग्राहकहरूले ५ सयभन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० को न्युनतम् शुल्क लाग्नेछ । ग्राहकहरूको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीति परिर्वतन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।
साथै, फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरूलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ र सोभन्दा माथिको दुरीका लागि थप २५ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, एक हजार भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढीमा ७५ डेलिभरी शुल्क तोकिएको छ ।
नयाँ नीतिबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “५ सय रुपैयाँको न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागि हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुने गरी केहि हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरूको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरूलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।”
सन् २०१०देखि सञ्चालनमा आएको फूडमाण्डु नेपालको पहिलो फूड डेलिभरी कम्पनी हो । फूडमान्डुले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरूलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरूमार्फत काठमाडौं उपत्यका र पोखरामा आप्mनो सेवा प्रदान गर्दै आएको छ ।