काठमाडौँ / सानिमा सेक्यूरिटीज लिमिटेडले असोज २६ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे काठमाडौं पुतलीसडकस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नयाँ ब्रोकर कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले पहिलो वर्ष नै शेयरधनीहरूलाई २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्ने जनाएको छ ।
सभाले प्रबन्धपत्रमा अन्य कम्पनीको शेयर, डिबेन्चर, बण्ड, म्युचुअल फण्ड आदिमा लगानी गर्ने उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्ने जनाएको छ ।