images
images

चीनको नक्सामा नेपाली भूभाग भारतमा विलय गराएकोप्रति पूर्वसुरक्षाकर्मीहरूको आपत्ति, तत्काल नक्सा सच्याउन आग्रह

चीनको नक्सामा नेपाली भूभाग भारतमा विलय गराएकोप्रति पूर्वसुरक्षाकर्मीहरूको आपत्ति, तत्काल नक्सा सच्याउन आग्रह

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • चीनको नक्सामा नेपाली भूभाग भारतमा विलय गराएकोप्रति पूर्वसुरक्षाकर्मीहरूको आपत्ति, तत्काल नक्सा सच्याउन आग्रह

    काठमाडौँ / पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू-भागलाई भारततर्फ देखाएको भन्दै आपत्ति जनाएको छ । आज (शुक्रबार) काठमाडौँ पत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरूको नक्सा जारी गर्दा नेपालको भू-भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो । 

    images
    images

    चीनले भू-राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू-भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ । 

    चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरूको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ । 

    पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष  कोमल बहादुर राउतले चीन र भारत दुई ठूला देशहरूले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेला पूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको बताउँदै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनुपर्ने बताए । 

    ‘पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरूको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन्,’- उनले भने । 

    पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथि अत्यन्तै भरोसा गरेको बताए । नेपालमाथि अन्य राष्ट्रबाट आउनसक्ने खतराहरूमा सुरक्षा मित्र राष्ट्र चीनले गर्छ भन्ने अपेक्षा रहेकोमा नेपालको भू–भाग नै अर्को देशको नक्सामा विलय गराउनु आपत्तिजनक रहेको बताए । 

    हिजोका दिनमा नेपालको स्वाधीनता र सार्वभौम सत्ताको रक्षा र विकास निर्माणका पूर्वाधार निर्माणमा सहयोग गरेको चीनले नेपालको भू–भाग भारतमा विलय गरेर नक्सा जारी गर्नु दुःखद् भएको बताए । 

    विदेशीलाई गाली गर्नुभन्दा पहिला २०७७ सालमा जारी चुच्चे नक्सा सबै छिमेकी देशको कूटनीतिक नियोगमा सरकारमार्फत पुग्यो वा पुगेन भनेर बुझ्न आवश्यक रहेको उनको भनाई छ । कूटनीतिक नियोगमा उक्त चुच्चे नक्साबारे जानकारी नपुगेको भएमा स्वयम् राजनीतिक दल र नेताहरूले जिम्मेवारी लिनुपर्ने उनले बताए । 

    ‘विदेशीलाई गाली गर्नुभन्दा पहिला कमजोर कूटनीतिक र राजनीतिक दलहरूलाई गाली गर्नुपर्ने अवस्था छ । २०७७ सालमा चुच्चे नक्सा जारी भएपछि आफ्नो भू–राजनीतिक नक्सा जारी गरेको पत्र सम्बन्धित सबै कूटनीतिक निकाय जानकारी गराएको छ कि छैन ?’ प्रश्न गर्दै उनले भने, ‘त्यो पत्र आधिकारिक रूपमा चीनको राजदूतावास वा कूटनीतिक नियोगमा पुग्यो कि पुगेन ? होईन भने यिनै पार्टी र नेता निकम्म भएको ठहर हामी नेपाली जनताले गर्न आवश्यक छ ।’ 
    पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरूले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिक दलहरूले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरूलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नका चेतावनी दिए । 

    पूर्वसुरक्षाकर्मी परिषद् नेपाल केन्द्रीय सदस्य एवं चन्द्रागिरी नगर समितिका अध्यक्ष विक्रमबहादुर पाण्डेले चीनले नेपालको भू-भाग भारतको नक्सामा विलय गराएर सर्वाभौम सत्तामाथि प्रहार गरेको आरोप लगाए । आफूहरूले बारम्बार राष्ट्र र राष्ट्रियताको लागि खबरदारी गरिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्न नचाहेको गुनासो गरे । 

    पूर्वसुरक्षाकर्मी परिषद् नेपाल सह–सचिव मोहनसिंह खड्काले चीनले नेपालको भू-भाग भारतमा विलय गराएर नक्सा जारी गर्दा तीन करोड नेपालीको मन रोएको टिप्पणी गरे । चीनले गल्ती गरेको छ भन्ने कुरा कटनीतिक तरिकाबाट सरकारले महसुुस गराउन आवश्यक रहेको उनले बताए । 

    नेपाली सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्नेतले चीनले भारतलाई खुसी बनाउनका लागि नेपाली भू-भाग भारतीय नक्सामा विलय गराएको आरोप लगाए । आजभन्दा पहिला चीनले नेपाललाई कहिल्यै पनि नराम्रो दृष्टिले नहेरेको भन्दै उनले उक्त नक्सा सच्याउन आग्रह गरे । आफूले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबाट उक्त कुरा थाहा पाएको बताउँदै उनले बालेन्द्रको प्रशंसा गरे । 

    ‘मैले कुरा थाहा पाएँ बालेनजी बाट । काठमाडौंका मेयर बालेन माई स्यालुट टू यु बालेन । तपाईँले धेरै असल काम गर्नु भएको छ,’- उनले भने । 
    बालेनले देशको सार्वभौमतामाथि प्रहार गर्ने  चीन राष्ट्रको भ्रमण नै रद्द गराएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो विवाद नसल्ट्याई चीन भ्रमणमा जान नहुने उनको भनाई छ । नेपालीहरू कहिले पनि चीनको दास नभएको बताउँदै बरू दास्रो विश्वयुद्धमा नेपाली सेनाले चीनमा गएर तालिम दिएको स्मरण गराए । चीनले भारतको पक्षमा लागेर नक्सा जारी गरेको उनको आरोप छ । 

    ‘नेपाली राजनीतिज्ञ अमेरिकी दलाल त भए, अब चीनको दलाल भएको हेर्न बाँकी छ,’– उनले भने । सीमाविद् एवं पूर्वनापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सार्थथ्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले  सधैं दुत्कारीरहने उनको भनाई छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार