काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबिच सम्झौता भएको छ । संघले आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरूमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरूका लागि न्यूनतम् मूल्यमा ट्रेकिङ बिमा सुविधा उपलब्ध गराउने गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यनतम १५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा, ४ लाख बराबरको स्वास्थ उपचार बिमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बिमा गरिनुपर्ने व्यवस्था अनुरूप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरूको लागि विशेष बिमा योजना ल्याएको हो ।
साविकमा पदयात्रा एजेन्सीहरूले महँगो शल्कमा बिमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बिमा योजना ल्याएको हो । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरू शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूका बीच गत माघ १९ गतेका दिन कम्पनीका नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरू शेर्पाले सार्वजनिक गरे । यो सिजनका लागि ट्रेकिङ बिमा योजना मार्च ०१, २०२५ देखि लागु हुनेछ ।