काठमाडौँ / आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ २० हजार रुपैयाँ धरौटीमा छुट्ने भएकी छन् ।
जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो ।
उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवका कसुरमा अनुसन्धान गरेको थियो ।
तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका-९ बाट वडा नं-१० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् ।
उक्त झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
उनीबिरुद्ध प्रहरी वृत्त गौशालाले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।