पोखरा / सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन्। जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १-अन्डर २०६ स्कोर गरे। उनले आज भने ४-ओभर ७३ स्कोर गरे ।
उपाधिसहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे । निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो । उनको करियरको यो तेस्रो उपाधि हो । यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौँ ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए।
इभन-पार ६९ को कार्ड तयार पारेका जयराम श्रेष्ठले समग्रमा २-ओभर २०९ सहित दोस्रो भए । उनले नगद १ लाख हात पारे। समग्रमा ३-ओभर २१० को स्कोरमा भुवन कुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाए । आज उनले ७-ओभर ७६ को प्रदर्शन गरे । उनले ७५ हजार पुरस्कार पाए ।
नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले आज २-अन्डर ६७ को स्कोर दर्ज गरे । समग्रमा ४-ओभर २११ सहित चौथो हुँदा उनले ६३ हजार प्राप्त गरे । समग्रमा ७-ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णु प्रसाद शर्मा र रामे मगरले पाँचौं स्थान बाँडे ।
विष्णु र रामेले आज ४-ओभर ७२ तथा सञ्जय र धनले ७-ओभर ७६ को स्कोर निकाले । उनीहरूले जनही ४४ हजार ७५० नगद पुरस्कार पाए । १०-ओभर २१७ सहित कृष्णमान राजबहाक र तोरण विक्रम शाहीले दशौं स्थानमा प्रतियोगिता सकाए ।
कृष्णले ६-ओभर ७५ र तोरणले ४-ओभर ७३ मा अन्तिम दिनको खेल सकाए । दुवैले जनही ३३ हजार ५ सय नगद प्राप्त गरे ।
एमेच्योरतर्फ सुरेश तामाङ पहिलो भए । इभन-पार ६९ को स्कोरमा समग्रमा ९-ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई दुई स्ट्रोकले हराए ।
समग्रमा ११-ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए। उनले आज ३-ओभर ७२ स्कोर गरे । दोस्रो दिनका लिडर सुन्दर राईले आज ९-ओभर ७८ खेल्दै तेस्रो स्थानमा झरे ।
अन्तिम दिनको सुरूवात गर्दा मात्र एक स्ट्रोकले अगाडि रहेका निरजले उत्कृष्ट स्कोर निकाल्न सकेनन् । उनलाई अन्य गल्फरले चुनौती दिन नसक्दा ३ स्ट्रोकले उपाधि जितेका हुन् ।
पाँचौँदेखि सातौँ होलमा बोगी खेपेका उनले फ्रन्ट नाइन ३-ओभर ३७ खेले । यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि ११औँ र १८औँ होलमा एक-एक सट खेर फाले । ब्याक नाइन १-ओभर ३६ मा सकाए ।
जयरामले पहिलो होलमा नै ट्रीपल बोगी प्रहार गरे। लगतै तेस्रो होलमा एक सट खेर फाले । छैटौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन २-ओभर ३६ मा पूरा गरे । यसपछि ब्याक नाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे ।
१०औँ होलमा बर्डी प्रहार गरे भने १२औँ होलमा बोगीको सामना गरे । यसपछि १५औँदेखि १७औँ खेलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे । अन्तिम होलमा एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३३ मा सकाए । योसँगै उनी संयुक्तरूपमा पाँचौँबाट दोस्रो स्थानमा उक्लन सफल भए ।
लगातार दुई दिन दोस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइन ५-ओभर ३९ र ब्याक नाइन २-ओभर ३७ मा सकाए । उनले दोस्रो र चौथो तथा यसपछि पाँचौँदेखि सातौँ होलमा लगातार तीन बोगी हाने । ११औँ र १५औँ होलमा पनि एक-एक सट खेर फाले ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरूङले पुरस्कार वितरण गरे ।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फरहरूले भाग लिएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रहेको थियो । भोलि प्रो-एम प्रतियोगिता हुनेछ ।