काठमाडौँ / प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन् । नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १०औं वार्षिक साधारण सभाले विशाल प्लास्टोकेब इन्डष्ट्रिजका तातेडलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आइतबार काठमाडौँमा आयोजित साधारण सभाले एमएम प्लास्टिकका सुयश प्याकुरेललाई वरिष्ठ उपाध्यक्ष र इन्टरटेक पाइप एन्ड फिटिंग्सका विनीत कुमार अग्रवाल र अनुराग इम्पोर्ट एक्सपोर्ट हाउसका वेंकटेश मुण्दडालाई उपाध्यक्षमा चयन गरेको छ।
यस्तै, पञ्चकन्या समूहका आशिक श्रेष्ठ, सिद्धार्थ सनराइज इन्डस्ट्रिजका संजय अग्रवाल, पिया प्लास्टिक इन्डस्ट्रिजका अरुण कुमार पिया, टीएसएन प्लास्टकेयर इन्डस्ट्रिजका भरतराज आचार्य, हिलटेक इन्डस्ट्रिजका जितेन्द्र वैद र बागमती मोल्डिङ इन्डस्ट्रिजका अमित राठी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।
साथै, हालै जारी अध्यादेशको भावनाअनुरूप नियमावली र कार्यविधि छिट्टै ल्याउने सरकारको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री भण्डारीले प्लास्टिक क्षेत्रका उद्योगहरूको प्रवद्र्धन र विकासमा सरकारको समर्थन रहने प्रतिवद्धता पनि जाहेर गरेका छन् । पिएनएफका नवनिर्वाचित अध्यक्ष तातेडले प्लास्टिक उद्योगहरूको दिगो र अनुकूल नीतिहरू निर्माणका लागि पहल गर्ने बताए ।
“हामीले उद्योगहरूको हितका लागि लबिङ गर्नुका साथै जनचेतना र पुनः प्रयोगसम्बन्धी अभियानमा पनि काम गर्नुआवश्यक छ। यसका लागि हामी नेपाल र विदेशी प्लास्टिक क्षेत्रका सरोकारवालाहरू सँगको सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउँदै जानेछौँ,” उनले भने ।
तातेडका अनुसार प्लास्टिक उद्योगहरूले कमजोर विद्युत्आपूर्ति, कच्चा पदार्थमा उच्च भन्सार महसुल र अन्तः शुल्कको समस्या भोगिरहेका छन्। भन्सार महसुलको दर कहिलेकाहीं तयारी वस्तुको बराबर नै हुने उनको भनाइ छ ।
“तयारी प्लास्टिक वस्तुहरूको आयातबाट कसैलाई लाभ हुँदैन । सरकारले राजस्व गुमाउँछ, जनताले रोजगारी गुमाउँछन्भने उद्योगहरूले आफ्ना उत्पादनकोबजार गुमाउँछन्। त्यसैले सरकारलाई स्थानीयरूपमा उत्पादित वस्तुहरूलाई सहयोग र प्रवर्द्धन गर्ने नीति ल्याउन अनुरोध गर्दछु,” तातेडले भने ।
आफ्नो कार्यकालमा प्लास्ट नेपाल फाउन्डेसनलाई देशव्यापिरुपमा विस्तारको कार्य अघि बढाउने उनको योजना छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्लास्टिकजन्य वस्तुहरूको पुनः प्रयोगको महत्वमा जोड दिए ।
प्लास्टिक उद्योगले उत्पादन, वितरण, बिक्री र रिसाइक्लिङ प्रक्रियामार्फत हजारौँ व्यक्तिलाई रोजगार उपलब्ध गराएको उल्लेख गर्दै उनले पुनः प्रयोगलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।
“केही क्षेत्रहरूमा प्लास्टिकको प्रयोग घटाउनु आवश्यक छ । गुणस्तरमा ध्यान दिनु पनि जरुरी छ । तर हाल प्लास्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रा खर्चिनु पर्ने अवस्था छ । यदि पुनः प्रयोगलाई प्रोत्साहन गर्न सकियो भने यो विदेशी मुद्रा बचाउन सकिन्छ,” ढकालले भने ।
निवर्तमान अध्यक्ष दीपक श्रेष्ठले विकासशील देशका रूपमा नेपाललाई प्लास्टिक उद्योगलाई थप दिगो र उन्नत बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए ।
प्लास्टिक उद्योगहरूको स्वस्थ विकासका लागि पीएनएफले विभिन्न जनचेतना कार्यक्रम र प्लास्टिक एक्स्पोहरू आयोजना गर्दै आएको उनले जानकारी दिए ।