काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । ६ दिन लगातार बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा १८.१४ बिन्दुले घटेको हो ।
यसअघि २६५३.२३ मा पुगेको नेप्से परिसूचक घटेर २६३५.०९ बिन्दुमा झरेको हो । नेप्से घटे पनि आज कारोबार रकम बढेको छ । बुधबार ६ अर्बको कारोबार भएको बजारमा आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
बुधबार १८० ओटा कम्पनीको सेयर मूल्य घट्दा ५५ ओटाको बढेको छ । त्यस्तै, ७ ओटाको मूल्य स्थिर रह्यो ।
यो दिन ३०८ ओटा कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७३ हजार ३०९ पटकमा कारोबार भएको छ । बजार पुँजीकरण रकमसमेत आज घटेर ४३ खर्ब ७० अर्ब ८२ करोड कायम भएको छ ।
बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ८.१९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको मूल्य ७.६४ प्रतिशतले बढेको छ ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.२३ प्रतिशतले घटेको छ । त्यस्तै, माइखोला हाइड्रोपावर कम्पनीको मूल्य ८.४६ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४९ प्रतिशतले घटेको छ ।
आज होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । सुपरमादी हाइड्रोपावर लिमिटेडको कारोबार रकम सबैभन्दा बढी छ । यो कम्पनीको ४४ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको हो ।
अन्य सबै उपसमूहको सूचक घटेको छ । सबैभन्दा बढी वित्त र विकास बैंकको परिसूचक घटेको छ । विकास बैंकको सूचक २.०४ प्रतिशत र वित्त समूहको सूचक २.९३ प्रतिशतले घटेको हो । त्यस्तै, लघुवित्त र जीवन बिमा समूहको सूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।