images
images

‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’

‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • ‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
    images
    images

    काठमाडौँ / सङ्खुवासभाका शिव चापागाईं बिहानै भैँसीलाई खोले दिएर दूध दुहुने तरखरमा थिए । एक्कासि बाल्टी हल्लियो । हातखुट्टा लगगल कामे । “के भयो भनेर आत्तिएर भैँसीको थलाबाट निस्कँदा गाउँतिर भूकम्प आयो भनेर गाउँभर कोलाहल मच्चिसकेको रहेछ”, उनले भने । 

    सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो ।  भोजपुर षडानन्द नगरपालिका–१४ का कुमार अधिकारी बिहान सबेरै उठेर घरको काममा व्यस्त थिए ।

    भुईँ हल्लियो । घरका दलिन मच्चिए । बाहिर निस्कँदा भूकम्प गयो भनेर होहल्ला भइरहेको रहेछ ।

    “घरभित्रै थिए । एक्कासि शरीर नै हल्लिएजस्तो भयो । घरको दलिन हल्लिएको देखेर के भयो भन्दै आत्तिँदै बाहिर निस्के भूकम्पको हल्ला भइसकेको रहेछ”, उनले भने । 

    भूकम्पको धक्काले काठमाडौँ उपत्यकाका नागरिकमा पनि ठुलो त्रास पैदा गरायो । भक्तपुरको मध्यपुर ठिमी–३ स्थित लोकन्थली निवासी रेनुका कार्की पनि बिहानको नियमित काममा व्यस्त थिइन् । एक्कासि भूकम्पको झड्का महसुस भएपछि आत्तिएर उनी बाहिर निस्किन् ।

    त्यतिञ्जेल घर बाहिरको खाली जग्गामा मानिसको जमघट भइसकेको थियो । लोकन्थलीकै कृष्ण श्रेष्ठले पनि हत्तारहत्तार परिवार लिएर बाहिर निस्किएको स्मरण गरे । 

    बूढानीलकण्ठ नगरपालिका–७ निवासी मन्दिरा चापागाईं खड्काले पनि एक्कासि बत्तीको झुमर हल्लिएपछि आत्तिएर बाहिर निस्कनुपरेको बताइन् । “विसं २०७२ को भूकम्पपछि यति धेरै हल्लाएको आजै हो । धन्न केही भएन, हामी त ठुलो क्षति हुन्छ कि भनेर आत्तिएका थियौँ”, उनले भनिन् । 

    नेपालको उत्तरपूर्वी सीमा नजिक चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तको दिंगी काउन्टीमा केन्द्रविन्दु भएर सात रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    बिहान ६ बजेर ५० मिनेटमा उक्त स्थानमा भूकम्प गएपछि सङ्घीय राजधानी काठमाडौँसम्मै धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरू आत्तिँदै घर बाहिर निस्किएका देखिन्थे । काठमाडौँसहित नेपालका पूर्वी पहाडी जिल्लामा भूकम्पको ठुलो धक्का महसुस भएको केन्द्रले जनाएको छ । 

    केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता मोनिका झाले देशका पूर्वी जिल्लाहरुमा र मध्य नेपालका काठमाडौँलगायत सहरमा भूकम्पको धक्का बढी महसुस भएको बताइन् । 

    यसको परकम्प अझै आउनसक्ने भएकाले नआत्ती उनले सबैलाई अनुरोध गरिन् । “सात रिक्टरको भूकम्प गएकाले यसको परकम्प आइरहन्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन । परकम्प बढीमा ४, ५ र ६ रिक्टरसम्मको जानसक्ने भएकाले त्यसले खासै असर गर्दैन”, प्रवक्ता झाले भनिन् । 

    भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ । पूर्वी पहाडी जिल्लाका केही घरहरू (पुराना घर)मा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको प्रवक्ता झाले बताइन् । 

    उनका अनुसार चीनको दिंगी काउन्टी आसपासमा एक सयभन्दा बढी परकम्प गइसकेका छन् । चार रिक्टरभन्दा माथिका १२ वटा परकम्प गएका छन् । 

    दिंगी काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका भूकम्पको केन्द्रविन्दु  भएको स्थानको औसत दूरी नेपालबाट ९० किलोमिटर रहेको छ ।

    नेपालको कोशी, मधेस, बागमती प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसबाहेक कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा भने धक्का महसुस नभएको जनाइएको छ । 

    कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बे र पाँचधरमा भूकम्पको कडा धक्का महसुस भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

    इलाम, झापा, मोरङ र सुनसरीमा भने सामान्य धक्का महसुस भएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ । 

    मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस भएको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यका र उत्तर तर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लामा कडा धक्कारकम्पन महसुस गरिएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार केन्द्रले छदेखि आठ रिक्टर भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७ दशमलव ६ रिक्टर स्केलको गोरखा भूकम्प गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार