images
images

कर्णाली डेभलपेन्ट बैंक ‘टेकओभर’ हुँदा विकास बैंकहरूको सेयर मूल्यमा नेगेटिभ सर्किट

कर्णाली डेभलपेन्ट बैंक ‘टेकओभर’ हुँदा विकास बैंकहरूको सेयर मूल्यमा नेगेटिभ सर्किट

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • कर्णाली डेभलपेन्ट बैंक ‘टेकओभर’ हुँदा विकास बैंकहरूको सेयर मूल्यमा नेगेटिभ सर्किट
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी टेकओभर गरेसँगै आजैदेखि कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबारसमेत रोक्का गरिएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि नै सो बैंकको कारोबार रोक्का गरेको हो । त्यस्तै, आजै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त बैंकका बारेमा थप अध्ययन गरी राय सहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

    सेबोनले आज नेप्सेलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि सेयर कारोबार रोक्का गरिने नेप्सेले जनाएको छ । 

    यसैबिच आजको सेयर बजारमा विकास बैंक र वित्त समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । 

    कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएपछि खुलेको पहिलो कारोबार दिनमा तीन ओटा विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट समेत लागेको छ । 

    कतिपय विकास बैंक र वित्त कम्पनीको खराब कर्जा बढेसँगै लगानीकर्ताहरू आत्तिएको देखिन्छ । 

    आजै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकलगायतका सबै विकास बैंकहरूको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको छ । 

    यद्यपि, राष्ट्र बैंकले भने लगानीकर्ता र निक्षेपकर्ताहरूलाई नआत्तिन भनेको छ । यसअघि पनि राष्ट्र बैंकले टेकओभर गरेका वित्तीय संस्थाहरू सुधार गरेर पुनः सञ्चालनमा ल्याइसकेका छन् । 

    राष्ट्र बैंकले खटाएको व्यवस्थापन टोलिले आजैदेखि उक्त बैंकको व्यवस्थापन सम्हालेको छ । 

    व्यवस्थापन नियन्त्रणमा लिनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समूह बुधबार नै नेपालगञ्ज पुगेको थियो । 

    उक्त टोलिले सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिगेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी पाएको छ । 

    राष्ट्र बैंकको यो टोलीले अर्को व्यवस्था नभएसम्म व्यवस्थापन नियन्त्रणमा लिने जनाएको छ । राष्ट्र बैंकले समस्याग्रस्त भए पनि अब आफ्नो नियन्त्रणमा आइसकेकाले ढुक्क हुन निक्षेपकर्ता र सेवाग्राहीलाई आग्रह गरेको छ । 

    यो बैंकमा करिब ५ अर्ब निक्षेप र ३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको छ । यस बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको छैन भने निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कात्तिक मसान्तसम्म कर्णालीमा सर्वसाधारणले ५ अर्ब १८ करोड रुपैयाँ बराबरको निक्षेप राखेका छन् । 

    बैंकबाट कुल ३ अर्ब ७० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । बैंकसँग १ अर्ब ६९ करोड रुपैयाँमात्र तरल सम्पत्ति छ ।

    ५० करोड २८ लाख रुपैयाँ पुँजी भएको बैंकको रिजर्भमा करिब ४० करोड रुपैयाँ छ । तर, रिटेन्ड अर्निङ नै १ अर्ब १९ करोडले ऋणात्मक रहेको छ । बैंकको स्थिति नाजुक भएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर टेकओभर गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार