काठमाडौँ / नेपालमा पहिलो पटक भइरहेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को बिजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलको पुरस्कार राशि घोषणा गर्दै बिजेताले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्ने जनाएको हो ।
त्यस्तै, दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ ।
प्रतियोगितामा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार बिहान ९ः२५ बजे चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनिटर’ खेल हुनेछ ।
यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिनेछ । तर, यो खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि भने थप एउटा अवसर प्राप्त गर्नेछ ।
अर्थात, ‘एलिमिनेटर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेल्नेछ ।
दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीसँग उपाधिका लागि खेल्नेछ ।