images
images

मतदाता नामावलीमा नाम हुनेले मात्रै यी परिचयपत्रका आधारमा भोट दिने पाउने, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

मतदाता नामावलीमा नाम हुनेले मात्रै यी परिचयपत्रका आधारमा भोट दिने पाउने, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • मतदाता नामावलीमा नाम हुनेले मात्रै यी परिचयपत्रका आधारमा भोट दिने पाउने, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?
    images
    images

    काठमाडौँ / स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुँदैछ । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको हो।

    नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

    ४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले  गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको बताइन् ।

    अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउँछन् ।

    कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ? 

    कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । 

    ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ । 

    काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम ९पश्चिम भाग०को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । 

    दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । 

    निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । 

    यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र) का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो । 

    मत परिणाम वेबसाइटमै

    मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ । 

    आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ । 

    मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार