काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ ।
डा. चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ ।
पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताए ।
संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताए ।
पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ ।
उनले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिए ।
“सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ”, उनले भने।
उनले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पारे । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ ।
संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताए । “उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ”, उनले भने ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ। जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ।