विराटनगर / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन जापान गएका मन्त्री अधिकारीको आलोचना भएको थियो ।
नैतिकताको आधारमा राजीनामा दिएको उनले बताए । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री हिम्मत कार्कीले पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा दिन सुझाव दिएपछि उनले राजीनामा बुझाएका हुन् ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी कसैलाई थाहै नदिई कार्यक्रममा भाग लिन यही कार्तिक १३ गते जापान गएका थिए ।