काठमाडौँ / हिमालयन बैंक लिमिटेडले चालु आर्थिक बर्षको असोज मसान्तसम्म ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा ३२ करोड ९७ लाख ५१ हजार रुपैयाँले कम हो ।
गत आर्थिक बर्षको असोज मसान्तमा हिमालयन बैंकले १ अर्ब ५ करोड ६१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो भने समीक्षा अवधिमा सो नाफा घटेर ७२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको हो ।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिसन आम्दानी, कुल सञ्चालन आम्दानीमा गिरावट आएसँगै बैंकको नाफामा पनि गिरावट आएको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशतले घटेर २ अर्ब ४५ करोड ९ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष तीन महिनामा बैंकले ३ अर्ब १७ करोड ७९ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो ।
त्यस्तै, हिमालयन बैंकले गत आवको पहिलो तीन महिनाको तुलनामा १५.६८ प्रतिशत कम २४ करोड ६८ लाख २८ हजार रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी २०.८९ प्रतिशत कम २ अर्ब ८३ करोड ६५ लाख ९५ हजार रुपैयाँ मात्रै गर्न सकेको छ ।
यसैगरी इम्पेरिमेन्ट चार्ज र वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ भने कर्जा लगानी समेत १.५७ प्रतिशतले घटेको छ । गत बर्ष २ अर्ब ९३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ३२ करोड ४९ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यस बर्ष सोही अवधिमा भने बैंकले ३ खर्ब २६ अर्ब ९ करोड ४१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २८ अर्ब ८४ करोड १४ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ ।
असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब ७४ करोड २ लाख रुपैयाँ छ ।
यसैगरी बैंकको इपिएस १३ रुपैयाँ ४२ पैसा रहेको छ भने नेटवर्थ प्रतिसेयर १७९ रुपैयाँ ६८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा सामान्य बढेर ४.९८ प्रतिशत पुगेको छ भने सिडी रेसियो ७४.०७ र आधार दर ८.३५ प्रतिशत रहेको छ ।