images
images

दसैँ–तिहार सुपथ पसल : पिठो–चामलदेखि खसि–बोकासम्म, कुनमा कति छुट ?

दसैँ–तिहार सुपथ पसल : पिठो–चामलदेखि खसि–बोकासम्म, कुनमा कति छुट ?

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा काठमाडौँ उपत्यकासहित ४२ जिल्लाका ६३ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • दसैँ–तिहार सुपथ पसल : पिठो–चामलदेखि खसि–बोकासम्म, कुनमा कति छुट ?

    काठमाडौँ / बिहिबारदेखि दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित ४२ जिल्लाको आफ्ना ६३ बिक्रीकेन्द्रमार्फत् एकैपटक सुपथ पसल उद्घाटन गरेको हो । 

    images
    images

    मुख्य चाडपर्व दसैँ–तिहार तथा छठ पर्वको अवसरमा सर्वसाधारण उपभोक्तालाई अति आवश्यकीय खाद्यवस्तुमा राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साथै, चाडपर्वमा हुन सक्ने खाद्यान्नको कृत्रिम मूल्यवृद्धि, कालोबजारी र कार्टेलिङ नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

    यसको साथै सरकारको अर्को बिक्री केन्द्र साल्ट ट्रेडिङ कर्पोरेशनले पनि आउँदो सोमबारदेखि सुपथ पसल सुरु गर्ने भएको छ भने दुग्ध विकास संस्थान (डिडिसी)ले भदौँ १ गतेदेखि नै सबै प्रकारका उत्पादनमा छुट दिएर बिक्री थालेको र चाडपर्वमा पनि निरन्तरता दिने जनाएको छ ।

    कुनमा कति छुट ?

    सरकारी व्यापारिक निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलहरुमा डीडीसीको घ्यूदेखि कर्णालीको सिमी र जुम्लाको मार्सी चामलसम्म उपलब्ध गराइएको छ । यी वस्तुहरु बजार भाउभन्दा ५ रुपैयाँ देखि १० रपैयाँसम्मले सस्तोमा उपलब्ध गराइएको खाद्य कम्पनीले जनाएको छ । 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले नेपालीका प्रमुख चाड दसैँतिहार, छठसम्म दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सुपथ मूल्य पसल सञ्चालन गरेको बताए । 

    उनका अनुसार कम्पनीले बिक्री केन्द्रसम्म पहुँच नभएका उपभोक्ताका लागि अनलाइन अर्डरमार्फत होम डेलिभरीको व्यवस्था गरेको पनि बताए ।  प्रवक्ता अधिकारीले भने, “बजारमा चिनी, प्याजलगायतका अत्यावश्यक वस्तु चाडपर्वको समयमा अभाव नहोस् भनेर नेपाली उत्पादनलाई व्यवस्थित गर्ने र भारतबाट चिनी, चामललगायतका खाद्यपदार्थ अभाव नहोस् भनेर आयातमा प्राथमिकता दिइरहेका छौँ ।” 

    कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपैयाँ छुटको व्यवस्था गरेको छ । 

    त्यसैगरी, सरकारले १० रुपैयाँ छुटसहित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्ने तयारी गरेको छ । कम्पनीले दसैँका लागि जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

    1.PNG

    ४२ जिल्लाका ६३ स्थानमा बिक्री कक्ष 

    काठमाडौँ उपत्यकाका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका प्रवक्त अधिकारीले बताए ।

    राजधानी बाहिर पनि मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिराहा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रूकुम-पूर्व र रूकुम-पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

    यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछ । गत वर्ष पनि यी जिल्लाका विभिन्न स्थालमा सहुलियत पसल सञ्चालन भएको थियो । 

    पचास हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य

    बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट सरकारले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । 

    के भन्छन् मन्त्री भण्डारी ? 

    सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् । 

    मन्त्री भण्डारीले भने, 'खाद्यवस्तुमा कृत्रिम अभाव, कार्टेलिङ सुन्नु नपरोस्, सात सय ५३ वटै स्थानीय तहमा कम्पनीको सशक्त उपस्थिति हुनुपर्छ, यसका लागि कार्यक्रम प्रस्ताव गर्नुस्, प्रस्तावअनुसार काम गर्न वित्तीय संस्थामा थुप्रिएको पैसा ऋण लिन सकिन्छ ।' नेपालीले तीन छाक खान पाउनेगरी खाद्य सम्प्रभुता सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार