काठमाडौँ / बर्दघाट सुस्ता पश्चिम नवलपरासीस्थिति कारागार कार्यालयमा कार्यरत प्रशासक विनोद कुमार कर्ण घुससहित अख्तियारको फन्दामा परेका छन् । सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले कर्णलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
कर्णले नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकिदार/सेवाग्राहीलाई विभिन्न धम्की दिई दान, दातव्य, उपहार आदि माग्ने गरेका थिए । उनलाई चौकिदारबाट हटाउने र अरु कुनै सुबिधाहरू नदिने तथा कैदकट्टा/माफी मिनाहाको लागि सिफारिस/सहजीकरण गर्दा गराउँदा असहयोग गर्ने धम्की देखाई कर्णले जुत्ता, टेलिभिजनसहित रकमसमेत मागेका थिए ।
कर्णले चौकिदारसँग उपहारस्वरूप ५ हजार रुपैयाँ मूल्य पर्ने जुक्ता, १ लाख २६ हजार ४ सय रुपैयाँ पर्ने एलइडी टेलिभिजनसमेत मागेर प्रयोग गरिरहेका थिए । साथै घुस वापत १ लाख ५० हजार रुपैयाँ सेवाग्रहीबाट लिएको पुष्टि भएसँगै आयोगले उनलाई सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।
साथै, कर्णले १ लाख ३१ हजार ४ सय रुपैयाँको उपहार स्वीकार गरी प्रयोगसमेत गरेको कारण अख्तियारले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदाफा (१) बमोजिम कैद गरी बिगो जफत हुनेसमतेको मागदाबीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।