काठमाडौँ / नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो ।
कार्यवाहक प्राचार्य हुनु अगाडि भण्डारीले कलेजको सह-प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हाली सकेका छन् । सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् ।
इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिबृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गरेका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए ।
“कलेजको शैक्षिक कृयाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उहाँ सक्षम हुनुहुन्छ भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विस्वस्त छौँ।”
नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए । पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
उनले कलेजमा समय सापेक्ष नयाँ कार्यक्रम थप गर्ने, प्रशासनिक, भौतिक र आर्थिक समस्याहरू सुधार्ने, शिक्षक कर्मचारीको वृत्ति विकासमा आफू कलेजका सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडि बढ्ने बताए ।
“प्राचार्य पदको दायित्व र जिम्मेवारी बोध हुँदैगर्दा यो कलेजलाई कसरी अगाडि बढाउने अध्ययन गरेको छु। अहिलेको ज्वलन्त समस्या शिक्षाको गुणस्तर नै हो । अध्ययनरत विद्यार्थीहरूको लागि शिक्षाको गुणस्तर सुधार्नु हाम्रो दायित्व हो। अहिलेको अवस्थामा विद्यार्थीहरू नेपालमा अध्ययन नगरी बाहिर जाने फ्लो बढेको छ । यसबाट हाम्रो कलेज पनि मारमा परेको छ। यी सबै विषयहरुमा सञ्चालक समिति, विद्यार्थी, शिक्षक र कर्मचारीसँग हातेमालो गरेर म अगाडी बढ्नेछु,” पदभार ग्रहण गर्दै प्राचार्य भण्डारीले भने ।
कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको बताए ।
कलेजको सर्वोत्तम हितमा प्राचार्य भण्डारी र उनको टीमले गरेको हरेक निर्णयलाई सञ्चालक समितिले स्वीकार गर्ने उनको भनाई छ । साथै, उनले कलेजका सन्दर्भमा सबै एक ढिक्का भएर अगाडि बढ्न सुझाव पनि दिए ।
शिक्षक कर्मचारीका तर्फबाट बोल्दै सह-प्राध्यापक यमकृष्ण पौडेलले प्राचार्यको नियुक्तिसँगै कलेजमा रहेको द्विविधा हटेर गएको भन्दै आउँदा दिनहरुमा कलेजलाई सौहार्दपूर्ण रूपमा अगाडि बढाएर लैजाने सवालमा साथ र सहकार्य रहने बताए ।
त्यस्तै, आजै प्राचार्य भण्डारीको अध्यक्षतामा बसेको दैनिक कार्य सञ्चालन समितिले इनोभेसन एण्ड कम्युनिटी म्यानेजमेन्ट विषयक नयाँ कोर्ष ल्याउने निर्णय पनि गरेको छ ।समितिले प्राचार्य भण्डारीले प्रस्ताव गरेको नयाँ कोर्ष तयार पार्नका लागि कार्यविधि बनाउन कलेजका विभागीय प्रमुखहरुलाई समेत निर्देशन समेत दिइसकेको छ ।
नयाँ कोर्षले विद्यार्थीहरुलाई समुदायस्तरमै गएर काम गर्न र आत्मनिर्भर बनाउन टेवा दिने अपेक्षा गरिएको छ । यसैगरी बैठकले महिनाको एक पटक कलेजमा अध्ययनरत विद्यार्थीहरूका समस्या र गुनासाहरू सुन्न छलफल अन्तर्क्रिया गर्ने र त्यसबाट निस्किएका विषयहरू हल गरी अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज इन्जिनियरिङ शिक्षाका लागि नेपालकै अग्रणी संस्थाका रूपमा दर्ज छ।