काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताएका छन् ।
नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मोबाइलको प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने बताएका हुन् ।
“समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उनले भने ।
प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताए ।