काठमाडौँ / चौथो नेपाल जीवनस्तर सर्वेक्षणले नेपालका अधिकांश घरपरिवार रेमिटेन्समा आश्रित रहेको पुष्टि गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको जीवनस्तर चौथो सर्वेक्षणले मुलुकमा रहेका ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये करिब ७६.८ प्रतिशतले रेमिटेन्स प्राप्त गर्दै आएको देखाएको हो । तथ्याङ्क अनुसार मुलुकका कुल घरपरिवारमध्ये करिब ५१ लाख १५ हजार ५ सय २६ वटाले रेमिटेन्स प्राप्त गर्दै आएका छन् ।
तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ ले ५५.८ प्रतिशत घरपरिवारले रेमिटेन्स पाउने गरेको देखाएको थियो । यसले पछिल्लो १२ वर्षमा रेमिटेन्स पाउने घरपरिवारको संख्या ह्वात्तै बढेको देखाएको छ ।
यद्यपि रेमिटेन्स पाउने घरपरिवार सबैले विदेशबाट मात्रै रकम पाएका होइनन् । देशभित्रको रेमिटेन्सलाई पनि यसमा गणना गरिएको छ । प्रतिवेदन अनुसार स्वेदशभित्रैबाट भन्दा विदेशबाट विप्रेषण पाउने घरधुरी पनि बढेको छ ।
कार्यालयको प्रतिवेदन अनुसार कुल रेमिटेन्समध्ये दुईतिहाइभन्दा बढी विदेशबाट प्राप्त हुन्छ । आर्थिक बर्ष २०७९/८९मा ७०.७ प्रतिशत रेमिटेन्स विदेशबाट आउने गरेको प्रतिवेदनले उल्लेख गरेको छ । जसमा देशभित्रको रेमिटेन्सको हिस्सा २९.३ प्रतिशत देखिएको छ । यस्तै, विदेशबाट आउने रेमिटेन्समध्ये पनि भारतबाट आउने रेमिटेन्सको हिस्सा २१.३ प्रतिशत छ । अन्य देशबाट प्राप्त हुने रेमिटेन्सको हिस्सा ४९.४ प्रतिशत छ ।
यस्तै, प्रादेशिक रूपमा हेर्दा रेमिटेन्स प्राप्त गर्ने घरपरिवारमध्ये सबैभन्दा धेरै ८९.६ प्रतिशत लुम्बिनी प्रदेशका छन् भने सबैभन्दा कम कोशी प्रदेशमा ६९.३ प्रतिशत प्रतिशत घरपरिवारले रेमिटेन्स प्राप्त गर्दै आएका छन् । वाग्मती र सुदूरपश्चिम प्रदेशमा ६९.८, मधेशमा ७९.१, गण्डकीमा ८१.१ र कर्णालीमा ८३.९ प्रतिशत घरपरिवारले रेमिटेन्स प्राप्त गर्दै आएका छन् ।
यता, प्रदेश अनुसार रेमिटेन्स प्राप्त हुने स्रोत मुलुक पनि फरक देखिएका छन् । जहाँ सुदूरपश्चिमले पाउने रेमिटेन्समध्ये ६६.८ प्रतिशत भारतबाट प्राप्त हुन्छ । कोशीमा ११.९ प्रतिशत रेमिटेन्स मलेसियाबाट र ११.२ प्रतिशत कतारबाट आइपुग्छ । मधेश र गण्डकीको रेमिटेन्सको ठूलो हिस्सा यूएईबाट आउँछ । बागमतीको रेमिटेन्सको महत्त्वपूर्ण स्रोत अस्ट्रेलिया हो ।
कहाँ उपयोग हुन्छ रेमिटेन्स ?
घरपरिवारले प्राप्त गर्ने रेमिटेन्समध्ये ७२.४ प्रतिशत दैनिक उपभोगमा प्रयोग गर्दै आएको पाइएको छ । यस्तै, रेमिटेन्सको १५.८ प्रतिशत ऋण भुक्तानीमा, ४.६ प्रतिशत स्वदेशमै अध्ययनका लागि, ०.६ प्रतिशत वैदेशिक अध्ययनका लागि, १.२ प्रतिशत पुँजी निर्माणमा पाइएको छ ।
त्यसैगरी, ०.४ प्रतिशत व्यवसाय वा लगानीमा, १.९ प्रतिशत घरजग्गा तथा टिकाउयोग्य सम्पत्तिमा, १.९ प्रतिशत बचत र १.२ प्रतिशत अन्य क्षेत्रमा उपयोग गर्दै आएको सर्वेक्षणले औंल्याएको छ ।