बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरे ।
मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् ।
सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए ।
हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने ।
दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए ।
किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।
गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए ।
गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउँछन् ।
हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ ।
लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् ।
विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका हुन् ।
उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन् ।