काठमाडौँ / कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
उनी जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ परेका थिए ।
कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । उनले विभिन्न सहकारीबाट करिब ८ अर्ब बचत अपचलन गरेको बाहिर आइरहेको छ ।
करिब दुई अर्बको अपचलनसम्बन्धी जाहेरी आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
धेरै बचत अपचलन गर्ने ठूला सहकारी मध्ये कान्तिपुर सहकारी पनि एक हो ।