images
images

पशुपतिको गुरूयोजना तयार : असार १ देखि चारै ढोका खुला गरिने, अभिशेष गरिएको जल पनि निःशुल्क दिइने

पशुपतिको गुरूयोजना तयार : असार १ देखि चारै ढोका खुला गरिने, अभिशेष गरिएको जल पनि निःशुल्क दिइने

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • पशुपतिको गुरूयोजना तयार : असार १ देखि चारै ढोका खुला गरिने, अभिशेष गरिएको जल पनि निःशुल्क दिइने
    images
    images

    काठमाडौँ / धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । 

    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताएका छन् । उनले भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको बताएका हुन् । 

    मन्त्री तामाङले दक्षिण एशिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपति नाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ परम्परालाई कायम राखेर व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइएको बताएका छन् । 

    “धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्ने छ। अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ,” उनले भने । 

    कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रूपबाट पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावलीअनुसार यो निर्णय गरिएको बताएका छन् ।  

    उनका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिन्छ । 

    “दर्शनार्थीको सङ्ख्या बृद्धि भएपछि सजिलो गरी दर्शन गर्न असुविधा भइरहेको गुनासो आयो । त्यसैले परम्परागत धार्मिक पक्षलाई कायम राखेर दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी चारवटै ढोका खुला गरिएको हो, हामीले व्यवस्थापकीय पक्षलाई नियमावलीअनुसारै व्यवस्थित गरेका हौँ,” उनले भने ।

    डा. थापाले पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने बताएका छन् । साथै हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको छ । महाशिवरात्री पर्वका अवसरमा, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गरिन्छ । 

    गुरूयोजना तयार

    संस्कृतिमन्त्री तामाङले धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको गुरूयोजना तयार गरिएको बताएका छन् । उनले गुरूयोजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने उल्लेख गरे ।

    “कतिपय काम विगतको निर्णयका आधारमा कार्यक्रमिक रुपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय काममा नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्ने छ । क्रमशः काम अघि बढाउँदै छौँ,” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार