चितवन / पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन् ।
चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ ।
यो सफलता त्यसै हात लागेको भने होइन । विसं २०२९ मा नुवाकोटको पीपलटारमा जन्मिइका गजुरेल बुबा गोपीचन्द्र र आमा पुतलीका जेठा छोरा हुन् ।
एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो । निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाए ।
विसं २०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उनी चितवन झरे । उनका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्थे ।
त्यही उद्योगमा उनले मासिक रु नौ सय पाउने गरी सहयोगीको जागिर पाए । चार महिना काम गर्दै गर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उनको हात मेसिनमा पुग्यो । दुईवटा औँला मेसिनले काट्यो । यो उनको जीवनको निकै सङ्घर्षको समय रह्यो ।
त्यसपछि उनी गाउँ फर्किए । केही महिनापछि फेरि चितवन झरे । साइकलमा प्लास्टिक बेचेको उनले देखे । त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो । बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पु¥याएर बिक्री गर्ने काम उनले थाले । नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उनी साइकलमै पुग्थे ।
बिदाको अघिल्लो दिन टाढाटाढा पुगेर त्यही रात बिताएर भोलिपल्ट फर्किन्थे । अठार वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उनी साइकलमै खटिन्थे ।
विसं २०४८ माघदेखि आफैँले काठमाडौँबाट प्लास्टिक ल्याएर यहाँ बिक्री गर्न थाले । यतिबेला उनले दैनिक रु १२ हजारसम्मको प्लास्टिक बिक्री गर्थे । यससँगै उनको जीवनयापन केही सहज बन्दै गयो ।
विसं २०४९ मा एक साथीसँग मिलेर नारायणगढको मेनरोडमा रु ३५ हजारमा चितवन प्लास्टिक ट्रेडर्स पसल किने । पसल किन्न मामाघरको हजुरबुबाले रु १० हजार दिए । यो रकम उनको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो । इमान्दार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले ।
यतिबेला पनि उनी साइकलमा प्लास्टिक बिक्री गर्न छाड्नु भएको थिएन । विसं २०५३ मा उनले पसललाई बढाउँदै थोक बनाए । त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो । उनले भने, “मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु ।”
थोक पसलमा कतिपटक त रातको समयमा समेत सुत्न नपाएको उहाँको स्मरण छ । राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उनी अनुभव सुनाउछन् ।
विसं २०५४ मा विवाह गरेपछि उनलाई काममा साथ मिल्यो । विसं २०५८ सालमा उनले रु १८ लाखमा लिलाचोकमा पुरानो घर किने । त्यही घरमा उनको पसल सुरु भयो । सुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाले ।
विसं २०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उनी पुगे । त्यहाँ देखेपछि उनी नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग सुरु गरे । अर्को वर्षदेखि उनले चितवन पोलीपाइप उद्योग सुरु गरे । सो उद्योगमा पाइपसँगै प्लास्टिकका झोलालगायत सामग्री पनि उत्पादन हुने गर्दछ ।
भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै नौ कट्ठा जग्गा उनले किनेका थिए । त्यही जग्गामा उद्योग सुरु भयो । त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोले भने २०७४ सालमा प्लास्टिकका ट्याङ्क उत्पादन गर्ने उद्योग सुरु भयो । पुरानो उद्योग नजिकै १५ कट्ठा जमिन लिएर उनले यो उद्योग सुरु गरेका हुन् । चितवन राइनो ट्याङ्कीका रुपमा उहाँको उत्पादन बजारमा छ ।
दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उनले सुरु गरे । यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मङ्सिरबाट सञ्चालनमा छ । यसबीचमै उनले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गरे । इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उनका २५ वर्षे छोरा आकाशले हेर्दै आएका छन् ।
उनीसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा सँगसँगै छन् । परिवारले दिएको साथ उनको सफलताको अर्को पक्ष हो । उनले गरेको आम्दानी र बैङ्कको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उनी बताउछन् ।
व्यावसायिक सफलतासँगै उनी सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन् । विसं २०७५ देखि २०७९ सम्म उनी प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्ष थिए भने उद्योग वाणिज्य सङ्घ चितवनको कार्यसमिति सदस्य समेत भएर काम गरे ।
इमान्दारीपूर्वक निरन्तरको सङ्घर्षले नै आफूलाई सफलता मिलेको उनको भनाइ छ । कामलाई सानोठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने बताउँदै उनी भन्छन्, “मेरैजस्तै सङ्घर्ष र मिहेनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन ।