जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी प्रभुराम शर्माले विभिन्न पदमा कार्यरत सेनाहरुलाई हिजो चैत ७ गते दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि
शुभकामना व्यक्त गरे ।