images
images

इभिको आयात एक महिनामै ७३.७६ प्रतिशतले किन घट्यो ?

इभिको आयात एक महिनामै ७३.७६ प्रतिशतले किन घट्यो ?

अहिले देशकै नाजुक आर्थिक अवस्थाका कारण गाडीको माग पनि बढ्नु नसक्नु आयात घट्नुको मुख्य कारण !

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • इभिको आयात एक महिनामै ७३.७६ प्रतिशतले किन घट्यो ?

    काठमाडौँ / विद्युतीय (इभि) गाडी (कार, जिप र भ्यान)को आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको फागुन महिनामा इभि गाडीको आयात ह्वात्तै घटेको हो । 

    images
    images

    गत माघमा १ हजार ५२ युनिट इभि गाडी आयात भएकोमा फागुनमा घटेर २ सय ७६ मा सीमित भएको विभागको तथ्याङ्क छ । जुन ७३.७६ प्रतिशतले कम हो । 

    किन घट्यो आयात ?

    चालु आर्थिक बर्षको बिचमै सरकारले इभिमा कर बढाउन सक्ने चर्चा चल्दा पुस र माघमा ठुलो सङ्ख्यामा आयात भएको हुनसक्ने भन्सार विभागले जनाएको छ ।  

    यद्यपि, आगामी आर्थिक बर्षको बजेट अघि इभिमा कर नबढ्ने निश्चित भएसँगै फागुनमा भने आयात घट्न पुगेको देखिन्छ । 

    समग्र अटो बजारलाई हेर्ने हो भने अवस्था अहिले पनि नकारात्मक नै रहेको र बिक्री घटेको कारणले आयातसमेत प्रभावित भएको नाडा अटोमोवाइल्स अफ एसोसिएसनका अध्यक्ष करण चौधरी बताउँछन् । 

    उनका अनुसार आइसी इन्जिनयुक्त कारहरूको अटो कर्जामा ५० प्रतिशत डाउन पेमेन्ट अनिवार्य हुनु, च्ष्कप धभष्नजतबनभ जष्नज राख्नु जस्ता कारणले पनि बजारमा गाडिको बिक्रीमा असर पुगेको छ । त्यस्तै, आर्थिक मन्दीको असरसमेत अटो बजारमा देखिएको उनी बताउँछन् । 

    अध्यक्ष चौधरी भन्छन्, “अहिले देशकै नाजुक आर्थिक अवस्थाका कारण गाडीको माग पनि बढ्नु नसक्नु आयात घट्नुको अर्को मुख्य कारण हो । सम्पूर्ण अटो सेक्टरलाई माथि ल्याउन दुवै आईसी इन्जिनयुक्त कार र विद्युतीय कारको बिक्री बढ्न जरुरी छ ।”

    हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ प्रमुख सन्दीप शर्मा भने हुन्डाइ गाडिको आयात भने नघटेको बताउँछन् । उनी भन्छन्, “अघिल्लो महिनाहरूमा आएको गाडि स्टक हुँदा आयात घटेको होला । तर, हुन्डाइ गाडिको आयात र बिक्री सामान्य नै छ । हुन्डाइ प्रिमियम मोडल भएकोले आयात र बिक्रीमा एकैपटक धेरै सङ्ख्यामा घटबढ हुने भन्ने हुँदैन ।” 

    किया र हुन्डाइ कोरियाबाट आयात हुँदै आएको छ । नेपालबाट गरेको ४५ देखि ६० दिनसम्ममा कोरियाबाट नेपाली बजारमा गाडि आउने गरेको उनले जानकारी दिए । 

    उनका अनुसार भारत र चाइनाबाट धेरै सङ्ख्यामा इभि गाडि आयात हुने भएकोले ती देशबाट हुने आयात घट्दा र बढ्दा समग्र तथ्याङ्क नै प्रभावित हुन्छ । यस बिषयमा बुझ्न खोज्दा अन्य इभि बिक्रेता नेपाली कम्पनीहरूसँग भने सम्पर्क हुन सकेन ।

    नेपाली बजारमा चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसियालगायतका मुलुकहरूबाट ५० देखि ३०० किलोवाट तौल क्षमतासम्मका इभि गाडि आइपुग्ने गरेका छन् ।  

    नेपालमा उपलब्ध एमजी इजेडएस, हुन्डाई कोना र आयोनीक, बीवाइडी इ६, एम थ्री र टी थ्री, टाटा नेक्सन, दिगो इ६, महिन्द्रा इभेरिटो, किया निरो, जीएसी एवोन, वार्ड जस्ता कार पूर्ण इलेक्ट्रिक कार हुन् । 

    नेपालमा बिक्री हुने गाडीहरूमध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, जीएसी एवोन, वार्ड चिनियाँ ब्रान्ड हुन् । त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायतका गाडि भारतबाट आयात हुन्छन् ।  

    सरकारले कर बढाउन सक्ने शङ्काकाबीच पुसमा चालु आर्थिक बर्ष लागेपछिकै उच्च १ हजार ४ सय २१ युनिट इभि आयात भएको थियो ।
     
    जुन चालु आव असोजमा आयात भएको १ हजार २ सय ३७ युनिटपछिको उच्च हो । त्यस्तै, साउनमा ११०, भदौमा ७८८, कार्तिकमा ६५२ र मङ्सीरमा ८९९ युनिट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

    चालु आर्थिक बर्षको ८ महिनामा इभि गाडी आयात गर्दा १५ अर्ब ८१ करोड ९७ लाख ५९ हजार रुपैयाँ बाहिरिएको छ भने ६ हजार ४ सय ३५ युनिट इभि आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । त्यसबाट सरकारले ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व उठाएको छ ।

    गत बर्षको तुलनामा १९३ प्रतिशतले बृद्धि 

    अघिल्ला बर्षहरूको तुलनामा विद्युतीय कार, जिप, भ्यानहरू नेपाल भित्रिने क्रम बृद्धि भइरहेको अध्यक्ष चौधरी बताउँछन् । गत वर्षको तुलना यो वर्ष विद्युतीय सवारीको आयात १९३ ले बढेको विभागको तथ्याङ्कले देखाउँछ । 

    गत आर्थिक बर्षको फागुन मसान्तसम्म २ हजार १९८ युनिट इभि गाडि आयात भएको थियो । यो बर्ष भने सोही अवधिमा ६ हजार ४ सय ३५ युनित इभि आयात भएको देखिन्छ । गत बर्ष फागुन महिनामा १८९ युनिट इभि आयात भएकोमा यो बर्षको फागुनमा भने २७६ युनिट इभि आयात भएको देखिन्छ । जुन ४६ प्रतिशतले बढी हो । 

    माग बढेसँग आयातमासमेत उल्लेख बृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ । आवश्यक पूर्वाधार, सहुलियत उपलब्ध हुनुका साथै पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएपछि पछिल्लो समय इभि गाडिको माग बढिरहेको नाडाका अध्यक्ष चौधरीको भनाइ छ । उनले भने, “सरकारले आइसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कारमा दिएको कर सहुलियत र आइसी इन्जिनयुक्त कारको तुलनामा अटो लोन पनि अलि सहज हुने भएकोले पनि विद्युतीय कारको आयात तथा बिक्री बढ्दै गइरहेको छ ।” 

    कुन क्षमताको कति आयात ?

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा ५० किलोवाट विद्युतीय कार, जीप र भ्यान ५ अर्ब १० करोड ४६ लाख २ हजार ७ सय ४६ रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

    यस्तै, ५१ देखि १०० किलोवाट क्षमताका १० अर्ब १८ करोड ५३ लाख रुपैयाँको ३ हजार ५ सय ९४ युनिट इभि आयात भएको छ । १०१ देखि २०० किलोवाटसम्मका ३८ करोड ५० लाख बराबर ७५ युनिट आयात भएको छ ।

    त्यसेगरी, २०० किलोवाट भन्दा बढी क्षमताको १४ करोड ४८ लाख रुपैयाँको २० युनिट इभि आयात भएको भएको भन्सार विभागको तथ्याङ्क छ ।

    कति भयो आयात ? (रकम रु. हजारमा)

    1.JPGस्रोतः भन्सार विभाग 

    कुन देशबाट कति आयो ? 

    नेपालमा चीन, भारत, अमेरिका, कोरियासहित ६ देशबाट इभिको आयात भएको छ । चालु आर्थिक बर्षको ८ महिनामा चीनबाट सबैभन्दा धेरै विद्युतीय कार, जीप र भ्यान भित्रिएको छ । 

    तथ्याङ्क अनुसार चीनबाट ५० किलोवाट क्षमताको १ अर्ब ३८ करोड ७ लाख ७२ हजार रुपैयाँ बराबरको ६ सय ६४ युनिट इभि भित्रिएको छ भने ३०० किलोवाट क्षमताको ११ करोड ९९ लाख ८ हजार रुपैयाँ बराबरको १६ युनिट इभि आयात भएको छ । 

    अन्य कुन देशबाट कतिको भयो आयात ? (रकम रु. हजारमा)

    2.JPGस्रोतः भन्सार विभाग 

    चार्जिङ स्टेसन निर्माण र सञ्चालन तथा पूर्वाधार विस्तारका लागि नीति आवश्यक 

    सरकारले विद्युतीय कारमा दिएको सहुलियत प्रशंसनीय छ र यसलाई निरन्तरता दिनु जरुरी भएको नाडाका अध्यक्ष चौधरी बताउँछन् । तर, यसले सम्पूर्ण अटो व्यवसायीहरूलाई भने लाभ नहुने उनको तर्क छ । उनले भने, “आइसीलाई पनि ब्यालेन्स वे मा अघि बढाउन जरुरी छ । यसले सम्पूर्ण अटो व्यावसायीहरूलाई लाभ हुनेछ ।” 

    अटो सेक्टर अटो बिक्रेता मात्रै नभएको बताउँदै उनले भने, “सवारीसाधनको आयातमा आएको कमिले आयातकर्तालाई मात्र नभई स्पेयर पार्ट्स, टायरलगायत अटोसँग सम्बन्धित व्यवसायीहरूलाई निकै ठूलो असर परेको छ । हामीले यो बुझ्न जरुरी छ कि, अटो सेक्टर भनेको अटो बिक्रेता मात्र होइन ।” 

    अध्यक्ष चौधरीका अनुसार कम्पोनेन्ट, एक्ससरिजलगायत लाखौ नेपालीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्, र हाल राष्ट्र बैङ्कको अटो व्यवसाय र अटो कर्जा सम्बन्धि कडा नीति र तरलताको पूर्ण अभावको कारण बैङ्कको ब्याजसम्म तिर्न नसक्ने स्थितिमा पुगेका छन् । जसका कारण व्यवसायीहरू आफ्नो व्यवसायबाट मात्र होइन देशबाट नै पलायन हुने अवस्थाको सिर्जना भएको उनी बताउँछन् । उनले भने, “व्यवसायी पलायन हुनु भनेको देशमा रोजगारीको समस्या उत्पन्न हुनु हो । यसमा सरकारी निकायको ध्यान जानु अहिले पनि जरुरी छ ।” 

    इभिको बिक्री वितरणलाई चालू आवकै तथ्याङ्क अनुसार निरन्तरता दिन पूर्वाधार विकासमा जोड दिनुपर्ने अध्यक्ष चौधरी बताउँछन् । अर्थ डबलीसँगको कुराकानीमा उनले यो बिषयमा निजी तथा सरकारी पहल धेरै भएको देखिए पनि शतप्रतिशत हुन नसकेको बताए । 

    ग्राहकलाई इभिप्रति शतप्रतिशत कन्फिडेन्स ल्याउन दुबै क्षेत्रले भूमिका खेल्न जरुरी रहेको  उनको भनाइ छ । “सरकारी र निजी क्षेत्रले नै विभिन्न स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गरी रहेको छ, तर त्यो एउटा सामाजिक उत्तरदायित्वको हिसाबले अघि बढिरहेको छ,” उनले भने “यो लामो समय सम्म चल्न सम्भव हुनेछैन, चार्जिङ स्टेसन निर्माण र सञ्चालन तथा पूर्वाधारको विस्तारमा सहयोग पुर्याउने गरी यो सम्बन्धि नीति ल्याउन जरुरी छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार